
काठमाडौं, १७ मंसिर । मतगणना अन्तिम चरणमा पुगेसँगै शीर्ष पार्टीका नेताहरुको आगामी सरकार गठनका लागि दौडधुप चलिरहेको ।
शनिबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाल निवासमै पुगेर भेटवार्ता गरेका छन् । भेटमा दुई नेताबीच आगामी सरकार गठनका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै, शनिबार माओवादी केन्द्रका पदाधिकारी बैठक पनि बसेको छ । पदाधिकारी बैठकले आगामी सरकार गठनका लागि नेपाली कांग्रेसको मात्रै भरमा नबसेर नेकपा एमाले लगायतका अन्य दलसँग पनि वार्ताको ढोका खुला राख्ने निर्णय गरेको छ ।
बैठकमा निर्वाचनको मतपरिणाम सन्तोषजनक नरहेको नेताहरुले निष्कर्ष निकालेका छन् ।
यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–
१. सरकार निर्माणका लागि सर–सल्लाह: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, गठबन्धनलाई निरन्तरता दिने र अरू दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने बारेमा छलफल ।
२. जो सँग पनि मिल्न सक्ने: सरकार गठनका लागि एमाले लगायतका दलहरुसँग पनि छलफलको ढोका खुला राख्ने माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी ।
३. शाहीविजयी: बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी, नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मी पराजित ।
४. गठबन्धनको अग्रता: दोलखाको जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै, प्रदेशसभा १ मा कांग्रेसका कुन्दनराज काफ्लेको अग्रता, प्रदेशसभा २ मा एमालेका भरबहादुर केसी र कांग्रेसका बर्मा लामाबीच कडा टक्कर ।
५. गुरुङको अस्वाभाविक मत : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ मतगणना सकिनुअघि नै विजयी, बुथकब्जा गरेर जित हासिल गरेको भन्दै गुरुङको चौतर्फी आलोचना ।
६. एमाले पहिलो पार्टी: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको जारी मतगणना अन्तिम चरणमा, प्रत्यक्षमा दोस्रो बनेको एमाले लोकप्रिय मतमा बन्यो पहिलो ।
७. सीके राउतको भनाई: अहिलेको निर्वाचनमा नयाँ दललाई विश्वास गरेर जनताले बहुआयामिक सन्देश दिएको जनमतपार्टीका अध्यक्ष सीके राउतको भनाई, जनतासँग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता ।
८. दु:खद खबर: धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते ।
९. अपाङगताका सम्बन्धमाप्रधानमन्त्री: अपाङ्गता भएका व्यक्तिको अधिकारमा पहुँच सुनिश्चित गर्नु सबैको दायित्व भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, सामाजिक पुन:स्थापना, सामाजिक न्याय र संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको दाबी ।
१०. सवालजवाफ: अमेरिकी राजदूतसँगको भेटलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र एमाले नेताभीम रावलबीच सवालजवाफ, आवेश, उत्तेजना र ओठे जवाफ जनउत्तरदायी प्रणालीसँग मेल नखाने रावलको टिप्पणी ।
११. खतराको संकेत: राजनीतिक शुद्धीकरणका लागिबौद्धिक जगतको भूमिका महत्त्वपूर्ण हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको भनाई, लामो संघर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनले खतरा सृजना भएको टिप्पणी ।
१२. सधैँ घाटामा आयलनिगम: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा मूल्य नघटाउने आयल निगमको अडान, निगम अहिले पनि २७ अर्ब घाटामा रहेको दाबी ।
१३. तीन एसपी तानिए: आर्थिक अनियमितताको आशंकामा सशस्त्रप्रहरी बलका तीनजना एसपी अनुसन्धानका लागि हेडक्वार्टर तानिए, तानिनेमा राजेन्द्र थापा, तेजप्रसाद पोखरेल र रुपकुमार क्षेत्री ।
१४. रमाउनबन्देज: चीनका पूर्व राष्ट्रपति चियाङ चमिनको निधनको शोक हङकङभर मनाइने, मनोरञ्जनात्मक गतिविधि नगर्न निर्देशन ।
१५. लुम्बिनी प्रदेश फाइनलमा: साविक विजेता लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, मधेश प्रदेश ५८ रनले पराजित ।















प्रतिक्रिया