शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सत्ता गठबन्धनकै नेता भन्छन्– धनराज गुरुङको जित लोकतन्त्रको बेइज्जती हो

दैनिक नेपाल २०७९ मंसिर १७ गते २०:०१

काठमाडौं, १७ मंसिर । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङको जितले लोकतन्त्रको बेइज्जती गरेको बताएका छन् ।

जिन्दगीभरका लागि बुथ कब्जाको कालो दाग भिरेर प्राप्त गरिएको जितको कुनै अर्थ नभएको डा. पौडेलको टिप्पणी छ । ‘धनराज गुरुङजीले जीवनभर ‘बुथ कब्जा’ को कालो दाग भिरेर हिँड्ने भए,’ उनले भने, ‘धनराज आफैंले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । यो लाजमर्नुको विषय हो, यो लोकतन्त्रको बेइज्जती हो ।’

गुरुङको जित सुनिश्चित भएपछि उपमहासचिव पौडेलले फेसबुकमार्फत लेखेका छन्, ‘धनराजजी, धेरै दु:ख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्‍यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।’

जनमतको अनादर र दुरुपयोग गरी लागेको पापको फल अवश्य मिल्ने भन्दै पौडेलले पाप कटाउन समेत सुझाव दिएका छन् ।

एमालेले स्याङ्जा–२ का विभिन्न मतदान केन्द्रमा सत्ता र शक्तिको दुरुपयोग गरी जनताको मताधिकार हनन् र बुथ कब्जा गरेको गरेको भन्दै पुन: मतदान गर्नुपर्ने माग गरेको थियो । तर, निर्वाचन आयोगले मतदान नभइ मतगणना गर्न निर्देशन दिएको थियो ।

जारी मतगणनाका क्रममा चापाकोट नगरपालिका–३ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि एमालेलाई समान १०३ मत र गठबन्धनका उम्मेदवारहरूलाई समान १ हजार ४२६ मत प्राप्त भएपछि धनराजले गरेको बुथ कब्जाको कर्तुत परिणामबाट पुष्टि भएसँगै पौडेलले गुरुङप्रति यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित