शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मधेश प्रदेशमा १९ जना पूर्वमन्त्री पराजित हुँदा को–को भए निर्वाचित ?

दैनिक नेपाल २०७९ मंसिर १७ गते १७:०८

जनकपुरधाम, १७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् ।

कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयले अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।

धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भए ।

गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भएका छन् । गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए ।

धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भएका छन् । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेत्री जुलीकुमारी महतोसँग झा पराजित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महतोले ३३ हजार तीन सय ८८ मत प्राप्त गरे भने झाले २३ हजार छ सय ८६ मत ल्याए ।

धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गरेका हुन् । महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे ।

सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भएका छन् ।

धनुषामा छ जना पूर्वमन्त्री पराजित हँुदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीले पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित भएका छन् । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरी विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भएकी छिन् । उनलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरेका हुन् । त्यहाँ जसपा नेता यादवले २४ हजार एक सय ७८ मत प्राप्त गर्दा कांग्रेस नेत्री यादवले २३ हजार २८ मत प्राप्त गरिन् ।

सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादी नेता साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् ।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित भए । सो क्षेत्रमा जसपाबाट डा. वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी भएका छन् भने तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार छ सय ५३ मत मात्र प्राप्त गरे ।

उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भए ।

जनमत अध्यक्ष डा. राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।

सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भएका छन् । उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र) छाडेर जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरेका हुन् ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।

कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १(१) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भएका छन् । महोत्तरी क्षेत्र नम्बर १ मा पटकपटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए ।

एमालेका लक्ष्मी महतो कोइरी २३ हजार चार सय दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार तीन सय २ मत प्राप्त गरे । गत २०७० र २०७४ सालको निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भएका छन् । कांग्रेस नेता महेन्द्र राय महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भएका छन् ।

राय २५ हजार चार सय २० मत ल्याएर निर्वाचित हुँदा जसपाका यादवले २१ हजार दुई सय ९६ मतमा सीमित भए । गत २०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरेका थिए ।

गत २०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा क्षेत्र नम्बर ३ छाडेर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भएका छन् ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हँुदा महतो दुई हजार ११ मतान्तरले पराजित भएका हुन् । महेन्द्र रायले २३ हजार पाँच सय २९ मत ल्याएर विजयी हुँदा महतो २१ हजार पाँच सय १८ मतमा सीमित भएका छन् ।

यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालीन सर्लाही क्षेत्र नम्बर ५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भएका थिए । गत २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसद बनेका थिए ।

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित भएका छन् । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी भएका छन् ।

मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे । पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भएका छन् ।

श्रेष्ठले ३० हजार तीन सय ४१ मत ल्याएर विजयी हुदाँ पूर्वमन्त्री मियाँले भने २० हजार तीन सय ३६ मत प्राप्त गरेका छन् । यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरी पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्तासँग पराजित भएका छन् ।

निर्वाचित भएका एमालेका गुप्ताले २४ हजार तीन सय १९ मत ल्याए भने चौधरीले २४ हजार एक सय ५२ मत ल्याए । रासस

प्रतिक्रिया
सम्बन्धित