
काठमाडौं, १६ मंसिर । धनगढीमा ग्रेडरले किचेर १५ वर्षीया चेतना साउँदको मृत्यु भएपछि चर्किएको प्रदर्शन आजबाट साम्य भएको छ । मृतकका आफन्त र प्रशासनबीच सहमति भएसँगै प्रदर्शन रोकिएको हो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता र राहदानीका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई निर्देशन दिएको छ ।
निर्देशनसँगै प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–
१. आफन्तले बल्ल बुझे शव : धनगढीमा ग्रेडरले किचेर मृत्यु भएकी १५ वर्षीया चेतना साउँदको शव आफन्तले बुझे । प्रशासन र आफन्तबीच सहमति भएपछि गरियो अन्त्येष्टि ।
२. रविलाई पर्यो अप्ठ्यारो : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र पासपोर्टका सम्बन्धमा छानबिन गर्न प्रशासनले प्रहरीलाई दियो निर्देशन, प्रहरीले अनुसन्धान थालेपछि लामिछानेलाई पर्यो अप्ठ्यारो ।
३. गोली प्रहार : कपिलवस्तुमा भारतीय नागरिक इर्रशाद खानमाथि गोली प्रहार, काँध र कम्मरमा गोली लागेका खानको उपचार हुँदै, गोली हान्नेको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ ।
४. एमालेको अग्रता कायमै : जारी मतगणनामा २७ लाख ७३ हजार भन्दा बढी लोकप्रिय मत प्राप्त गरी एमाले बन्यो पहिलो दल, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा ।
५. नेम्वाङको भनाई : ताजा जनादेश अनुसार विगतका गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्ने एमाले उपाध्यक्ष सुवास नेम्वाङको भनाई, जनताले निषेधको राजनीतिलाई अस्वीकार गरेको टिप्पणी ।
६. सुकुम्बासीलाई नहटाउन आग्रह : लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभएसम्म सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न राष्ट्रिय भूमि आयोगको आग्रह, देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन तथा प्रमाणीकरण भइरहेको जानकारी ।
७. प्रमुख आयुक्तको भनाई : निर्वाचन कानुन सन्तोषजनक नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाई, नयाँ कानुन बनाएर निर्वाचन व्यवस्थापनको तयारीमा आयोग रहेको जिकिर ।
८. कुन–कुन दल बन्दैछन् राष्ट्रिय दल ? : हालसम्म सात वटा राजनीतिक दलहरुले पाए राष्ट्रिय दलको मान्यता, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्र, जनता समाजवादी र जनमत पार्टीले कटाए ३ प्रतिशत थ्रेसहोल्ड ।
९. एकताको कुरो झुठो हो : माओवादी केन्द्रसँग पार्टी एकता हुने समाचार निराधार भएको नेकपा एकीकृत समाजवादी पार्टीको स्पष्टीकरण, एकताको बारेमा छलफलसमेत नभएको भनाई ।
१०. विवादमा बालेन ! : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अमेरिकी राजदूत डीआर थम्पसनसँग गरेको भेटबारे पूर्व पराराष्ट्र मन्त्री समेत रहेका एमाले नेता भीम रावलको चासो, परराष्ट्र मन्त्रालयबाट अनुमति नदिएको दाबी ।
११. मधेशमा एमाले पहिलो : केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेशका जनताले एमालेलाई मधेशमा पहिलो पार्टी बनाएको नेकपा एमालेका सचिव रघुवीर महासेठको भनाइ, आगामी सरकारले तीन महिनाभित्र अंगीकृत नागरिकका सन्तानलाई नागरिकता प्रदान नगरे आन्दोलन गर्ने चेतावनी ।
१२. उपमहासचिव पुन चीनतिर : वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन गए, चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिने ।
१३. आन्दोलनमा अटो व्यवसायी : सवारीसाधन आयात प्रतिबन्धविरुद्ध आन्दोलन गर्ने नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको निर्णय, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेजीको माग ।
१४. काबुलमा बम बिस्फोट : अफगानिस्तानको एक मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु दुई जना घाइते, कीभको पूर्वाधार आक्रमणमा पश्चिममा नीति जिम्मेवार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ ।
१५. मधेशको पहिलो जित : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई हराउँदै मधेश प्रदेशको पहिलो जित, दोस्रो खेलमा बागमतीलाई सुदूरपश्चिमले हरायो ।















प्रतिक्रिया