
काठमाडौं, १६ मंसिर । काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेशले ४८ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । मधेशको जितमा मयन यादवले ७४ बलमा ४९ तथा मेघ राज रामले ४३ रन बनाए । गण्डकीका लागि शिसिर भुषाल, नितीस गिरी, करन पंगेनी र अर्जुन कुमालले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १३ रन बनायो । गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे । मधेशका लागि नितिश यादव,साइमन राय, अभिषेक तिवारी र अविजित मण्डलले समान २/२ तथा निकेश गुप्ताले १ विकेट लिए ।
६ खेलमा १ जित ५ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेर प्रतियोगिता सकेको छ । मधेश भने ५ खेलमा २ अंकका साथ पुछारमा रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश अपराजित रहँदै फाइनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरी अपराजित यात्रा कायमै राखेको हो ।
मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो । बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९ दशमलव १ ओभरमा पुरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २८ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २४ रन बनाएको हो ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।















प्रतिक्रिया