
काठमाडौं, १६ मंसिर । लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् ।
नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् ।
नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो चरणमा सामाजिक सञ्जालबाट विरोध प्रदर्शन गर्ने र त्यसपछि कालो ब्यानर प्रदर्शन गर्ने तथा धर्ना दिने लगाएतका कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए । उनले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताए ।
अध्यक्ष थापाले अब पनि सवारी आयात प्रतिबन्ध नहटाए अटो व्यवसाय थला पर्ने अवस्थामा पुगको धारणा राखे । आफूहरुको समस्याका बारेमा पटक पटक राज्यको ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको उनको भनाई छ । मंसिर २२ गतेसम्मपनि आफूहरुको मागमा सुनुवाई नभए दोश्रो चरणको आन्दोलन सुरु गर्ने नाडाले जनाएको छ ।
विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुला छ ।
राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ ।















प्रतिक्रिया