शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गगनलाई प्रधानमन्त्री बनाउन विश्वप्रकाशको साथ, देउवालाई रोक्लान त ?

सुनिल तिमल्सिना २०७९ मंसिर १४ गते १८:५५

काठमाडौं, १४ मंसिर । वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा कांग्रेसका दुई महामन्त्री नै देउवाविरुद्व उभिने भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापा यो पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका बेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनलाई भरपुर साथ दिइरहेका छन् । शर्माले यसअघिनै सार्वजनिक रुपमै थापालाई प्रधानमन्त्रीमा आफूले समर्थन गर्ने बताउँदै आएका छन् ।

यसैबीच मंगलबार साँझ महामन्त्री शर्मा अर्का महामन्त्री थापाको घरमै पुगेका छन् । भेटमा दुई महामन्त्रीले एक अर्कालाई जितको शुभकामना पनि दिएका छन् ।

सामाजिक सञ्जालमा गगनसँगको फोटो पोष्ट गर्दै शर्माले अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने भाव बोकेको क्याप्सन लेखेका छन् । अग्रजहरुको विश्वास जितेर संयम भएर देशको नेतृत्व सम्हाल्नुपर्ने शर्माले लेखेका छन् ।

पछिल्लो समय पार्टीमा दुई महामन्त्री मिलेर एकलौटी गर्न खोजेको आरोप पनि पार्टीकै कतिपय नेताहरुले लगाइरहेका छन् । पार्टीका वरिष्ठ नेताहरुलाई बाइकट गर्दै प्रधानमन्त्री एक जना बन्ने र अर्का महामन्त्री पार्टी अध्यक्ष बन्ने खेलमा लागेको अधिकांशले आशंका गरिरहेका छन् ।

अहिले दुई महामन्त्री पार्टीभित्रकै नवनिर्वाचित सांसदहरुलाई फकाउन व्यस्त छन् । दुई महामन्त्री संसदीय दलको चुनावमा देउवालाई हराएर नेतृत्व हातमा लिने दौडमा लागिरहँदा कति सफल रहलान् त्यो त भावी दिनमा नै थाहा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित