
काठमाडौं, १२ मंसिर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिने चरणमा पुगेसँगै काठमाडौं महानगरपालिकाले अवैध घर टहरा भत्काउने र खाली गर्ने कार्यलाई पुन: सुचारु गरेको छ ।
यसै क्रममा सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न पुगेको महानगरको टोलीमाथि सुकुम्बासी बस्तीका स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको आक्रमणमा परेर २५ जना महानगर प्रहरीहरु घाइते भएका छन् ।
यस्तै, निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेका बेलामा आगामी सरकार गठनका लागि पार्टीका शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । सोमबार गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्री बन्ने दौडमा रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटघाटलाई तीव्रता दिएका छन् । सोमबार उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर यो पटक प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
पढ्नुस् दैनिक नेपालको टप फिप्टिन समाचारका हेडलाइनहरू–
१. एमालेलाई लोकप्रिय मत: समानुपातिकतर्फको मतगणनामा एमालेले पायो २५ लाख ४८ हजार भन्दा धेरै मत, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच टक्कर ।
२. तीन नेताको भेट: सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच सोमबार बिहान बालुवाटारमा भेट, गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल ।
३. पौडेलको प्रधानमन्त्री बन्ने इच्छा: प्रधानमन्त्रीका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दौडधुप, नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर मागे सहयोग ।
४. विष्णु पौडेलको बोली: निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको एमाले उपाध्यक्ष विष्णु पौडेलको भनाई, जनादेशलाई स्वीकार गरेर अगाडि बढ्ने प्रतिबद्वता ।
५. निषेधको राजनीति सकियो: जनताको जनादेशअनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको एमाले उपाध्यक्ष सुवास नेम्वाङको भनाई, निषेधको राजनीति पराजित भएको टिप्पणी ।
६.अशोककुमार राई विजयी: सुनसरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ पराजित ।
७. फेरि हुने भयो मतदान: दोलखाका १० मतदान केन्द्रमा पुन मतदान गर्ने निर्वाचन अयोगको निर्णय, मंसिर १५ गते मतदान हुने ।
८. आयोगको निर्देशन: उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन, दलीय सहमति बनाउन आग्रह ।
९. रविको चेतावनी: ठूला दलहरू नसच्चिए अर्को चुनावमा देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीले जनलहर सृजना गर्ने रवि लामिछानेको चेतावनी, दलहरुले सच्चिएर काम गर्ने मौका आएको भनाई ।
१०. सुकुम्बासी बस्तीमा तनाव: काठमाडौंको थापाथलीमा सुकुम्बासी र प्रहरीबीच दोहोरो झडप हुँदा महानगरका २५ प्रहरी घाइते, एसपी पाण्डेको टाउकोमा चोट ।
११. सकियो क्यालिब्रेसन उडान: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न, क्यालिब्रेसन फ्लाइटको रिपोर्ट तीन साताभित्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइने ।
१२.फेरि तर्सायो भूकम्पले: धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर आज बिहान ४ रेक्टरस्केलको भूकम्प गयो, स्थानीय त्रसित ।
१३.कोरोना कहर: नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना संक्रमणमुक्त ।
१४. अब ‘नो लकडाउन’: चीनमा लकडाउनविरुद्व विरोध प्रदर्शन, राष्ट्रपति सी चिनपिङको राजीनामा माग ।
१५.बराबरीमा सकियो खेल: कतारमा जारी फिफा विश्वकपअन्तर्गत सोमबार भएको पहिलो खेलमा सर्विया र क्यामरुनले खेले बराबरी, ३–३ गोल गर्दै बाँडे अंक ।















प्रतिक्रिया