
प्यूठान, १२ मंसिर । प्यूठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन् ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घरदैलोमा पुगेका छन् ।
प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, प्यूठान प्रदेशसभा–(१) मा विजयी भएका तुलसिराम शर्मा मतदातालाई धन्यावाद दिँदै घर–घरमा पुगेर खुसी साटिरहेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए । उनले भने, ‘पहिले मत माग्यौँ, अब उहाँहरुको समस्या के छ माग्छौँ, समाधान गरेरै छाड्छौँ ।’
निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगिरहेको एमाले प्यूठानका अध्यक्ष बिजयबिराज विष्टले बताए । उनले भने, ‘वडावडामा पुगेर मतदातालाई धन्यावाद दिने कार्यक्रम बनाएका छौं।’

एमालेबाट प्रदेश सभा १ मा चुनाव जितेका शर्माले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए । उनले भने, ‘हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी काम गछौँ ।’
विगतमा प्यूठानबाट चुनाव जितेर गएका जनप्रतिनिधिहरु जिल्ला नफर्किएको र विकास निर्माणमा भूमिका खेल्न नसकेको मतदाताहरुको गुनासो थियो ।












प्रतिक्रिया