शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दोलखाको कालिन्चोकमा प्रहरी इन्चार्ज कुटेर बुथ कब्जा

दैनिक नेपाल २०७९ मंसिर ९ गते १४:१८

दोलखा, ९ मंसिर । निर्वाचनको अघिल्लो दिन कालिञ्चोक गाउँपालिका-१ बेगुम्पामा खटिएका सहायक मतदान अधिकृत भाइराम बुढाथोकीले फेसबुकमा लेखे, ‘यहाँ गठबन्धनको माहोल गुड छ।’

उनले उक्त बुथ कब्जा गर्ने वातावरण बनाइरहेको सूचना पाएपछि दोलखामा निर्वाचन आचारसंहिता हेर्ने अधिकारी मुरारी निरौलालाई उनको कृयाकलापको बारेमा उजुरी पर्यो । उक्त उजुरीको छानबिन गरी सचेत गराइएको सूचना सार्वजनिक भयो । मंसिर ४ गतेको निर्वाचनमा उनी र मतदान अधिकृत हरि दाहालको सहयोगमा गठबन्धनले बुथ कब्जा गरेको नेकपा एमाले दोलखाले प्रमाणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएको छ ।

नेकपा एमाले दोलखाले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा पदीय दुरुपयोग गर्ने कर्मचारीलाई ‘जनमत खोस्ने मतियार कर्मचारी’घोषणा गर्ने उल्लेख छ । सेटिङ मिलाएर बुथ कब्जाको लागि गठबन्धनलाई महोल छ भनेर फेसबुकमा लेखेपछि मतदानस्थलबाट भाइराम बुढाथोकीलाई हटाउनु पर्ने माग गर्दा सचेत मात्र गराउन सकिने भनिएको र आखिर उनैले बुथ कब्जा गराएको नेकपा एमाले दोलखाले जनाएको छ ।

खटिएका दाहाल र बुढाथोकी दुवैले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरबहादुर पाख्रीनको नेतृत्वमा बुथ कब्जा भएको खटिएका अन्य कर्मचारीहरूले बताएका छन् । नेकपा एमालेले कालिञ्चोक गाउँपालिका कमिटीको प्रतिवेदनका आधारमा बुढाथोकी र दाहालले गठबन्धनलाई सही गरेको मतपत्रको ठेली नै बुझाएको उल्लेख छ । नरबहादुर पाख्रीनले असइ सोमबहादुर रानालाई कुटपिट गरे । उनी घाइते भएपछि पाख्रीनको छोरा भीमसेन पाख्रीन आफैँले अर्धकट्टीमा ल्याप्चे लगाउँदै मतपत्रमा धमाधम छाप लगाउँदै भोट हाल्न थालेको खटिएकी एक महिला कर्मचारीले बताइन् ।

उक्त वडाको निर्वाचित वडा अध्यक्ष पदम थामीले भने, ‘मतदातासँगै मलाईसमेत आक्रमण गर्दै लखेटेपछि एकलौटी मतदान गरे ।
गठबन्धनले मतपत्र बोकेर यताउता गर्दा यत्रतत्र छरिएको, मतपत्र बुक नै च्यात्दा भुँइमा खसेको एक मतदाता बताउँछन् । ‘प्रत्यक्षबाहेक समानुपातिक मतपत्रलाई वास्ता नगरेर फालेर हिँडे,’ मतदाता भन्छन, ‘अर्धकट्टीहरू र मतपत्र हरू आफूले पनि टिपेर घर ल्याएँ ।’
मंसिर ४ मा सम्पन्न भएको निर्वाचन निर्वाचनमा दोलखाका १३ ठाउँमा सत्ताको आडमा बुथ कब्जा भएको नेकपा एमाले दोलखाको निश्कर्ष छ ।कालिन्चोक गाउँपालिका वडा नं १ मा सरकारी कर्मचारीको सेटिङमै बुथ कब्जा गरिएको तथ्य र प्रमाणहरू बाहिर आइरहेका छन् ।

कब्जा गरिएको बुथ ‘क’ मा ९५.२९ प्रतिशत सम्म मत खसेको छ । उक्त मतदान केन्द्रमा ८५० मध्ये ८१० भोट खसालेपछि अधिकृत दाहाल र सहायक अधिकृत भाइरामले कानून बमोजिम गराउने भन्दै मत हाल्न रोके । त्यसैले निकालिएको मत बाहिरै फाले । जनताले केही फेला पारेर पार्टीमा बुझाएका जानकारी आएको छ ।

यसरी कब्जा भएको थियो बुथ
‘‘निर्वाचनका दिन मंसिर ४ मा कालिन्चोक वडा नं १ वडा कार्यालय बेगुम्पा ‘क’ मतदान केन्द्रमा मतदाताहरु पुगेर लाइनमा बसी मतदान गरिरहेका थिए, वातावरण शान्त थियो ।शान्तिपूर्ण निर्वाचनमा एमालेका पक्षमा धेरै मत खस्ने देखिएपछि माओवादी दोलखाका नेता नर पाख्रीनले उनका केही कार्यकर्तालाई संकेत गरे । उनको संकेत पाउनेबित्तिकै हल्लाखल्ला र हुलदंगा सुरु भयो ।

सुरक्षाकर्मीको नेतृत्व गरिरहेका असई सोमबहादर रानाको टोलीले हुलदंगा रोक्ने प्रयत्न गर्यो तर माओवादी नेता पाख्रीनले असई रानालाई झापड लगाउन थाले । तीनचार झापड लगाएपछि असई अन्यौलमा परे । के गर्ने के नगर्ने भए । यही बेला एमाले समर्थित कार्यकर्तालाई गठबन्धनका कार्यकर्ताले लखेटे ।

अब सबै वातावरण गठबन्धनका पक्षमा भयो । तर गठबन्धका कार्यकर्ता अन्यौलमा परे , के गर्ने, कसरी बुथ कब्जा गर्ने ? यही समयको पर्खाइमा रहेका सहायक मतदान अधिकृत एवं गठबन्धनको सेटिङमा पठाइएका भाइराम बूढाथोकी सक्रिय बने । उनले गठबन्धनका कार्यकर्तालाई बोलाएर आउनुस म सिकाउँछु, कसरी भोट हाल्ने भन्दै बोलाए । मतपत्रको बिटो हातमा थमाए र संघ, प्रदेश एवं समानुपातिकका मतपत्र र मतपेटिका चिनाए । अनि हाल्ने तरिका सबै बताए ।

कतै अन्यौल भएमा सोध्नू, भनी भनी उनी बुथ कब्जामा खटिए । उनको कामलाई समर्थन गर्दै मतदान अधिकृत हरिबहादुर दहालले मतपत्रमा भ्याइनभ्याइ सही गर्दै गए । आवश्यक परेको स्थानमा सहयोग गर्दै उनले पनि सक्रिय भूमिका खेले । ‘क’ बुथमा रहेका ८५० मध्ये ८१० भोट खसालिसकेपछि अझै हाल्नुपर्छ आओ, मिलाउनुपर्ने छ, मिलाउनु पर्यो, आओ-आओ भन्दै भाइरामले अन्तसम्म बोलाउँदै थिए तर कार्यकर्ता अल्छी मानेर हिँडेपछि उनी कराउन छोडे ।

को हुन हरि र भाइराम ?

भाइराम विष्णु मावि गैरीमुदीका हेडमास्टर हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनलाई वैत्यश्वर गाउँपालिका प्रमुख छवी लामाले उपाधीस्वरुप हेडमास्टरको पद दिलाएका हुन् ।सरकारी कर्मचारीले सामाजिक सञ्जालमा लेख्ने र लाइक तथा सेयर गर्ने काममा लागे कारवाही गर्ने निर्वाचन आयोगको आचारसंहिता विपरीत उनले सामाजिक सञ्जालमा प्रचार गरिरहेका थिए ।

उनी नेपाली कांग्रेसका लडाकु कार्यकर्ता भएकाले नै उनलाई त्यहाँ सेटिंगसहित प्रमुख निर्वाचन अधिकृतले पठाएको एमालेले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।गैरीमुदीमा भाला र तरबार बोकेर कांग्रेसका पक्षमा हिँड्ने कार्यकर्तालाई पठाएर गठबन्धनले बुथ कब्जा गर्न लगाएको एमालेको आरोप छ ।

सरकारी दानापानी खाएर राज्यको कानून विपरीत यस्ता हर्कत गर्ने कर्मचारीलाई कारवाहीको माग गर्ने, जनतामाझ सार्वजनिक गर्ने र वहिष्कार गर्ने दोलखा एमालेले नीति बनाएको जनाएको छ ।निर्वाचन अधिकृत हरिबहादुर दहाल पहिले कांग्रेस समर्थित थिए भने हाल माओवादीका निकट मानिन्छन् । उनी गोल्मेश्वर माविमा कार्यरत शिक्षक हुन् ।

प्रतिक्रिया
सम्बन्धित