शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपाली दूतावास डीसीमा सुर–सुधा समूहको मनोरञ्जनात्मक प्रस्तुति (फोटो फिचर)

विजय थापा २०७९ कार्तिक २६ गते १६:४३

डीसी (अमेरिका), २६ कात्तिक । अमेरिकाको भ्रमणमा रहेको नेपालको चर्चित सुर–सुधा समूहले नेपाली दूतावास वाशिङ्गटन डीसीमा सांगीतिक साँझ कार्यक्रममा बेजोड मनोरञ्जनात्मक प्रस्तुति गरेको छ ।

गत नोभेम्बर १० बिहीबारका दिन दूतावासमा आयोजना गरिएको सुर–सुधा समूहको सांगीतिक टोलीको प्रस्तुतिले कूटनीतिक निकायका अतिथिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । सुर–सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरूले कर्तलध्वनि बजाई सम्मान समेत गरेका थिए ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा दूतावासले अमेरिकी सरकारका विभिन्न विभाग, कूटनीतिक निकाय वाशिङटन, डीसी र कूटनीतिक निकायका अतिथिहरूका बीच पौराणिक नेपाली शास्त्रीय संगीत मण्डली (ब्यान्ड) सुर सुधा समूहको सांगीतिक साँझको आयोजना गरेको थियो ।

बिहिबार साँझ दूतावासमा आयोजना गरिएको सुर–सुधा समूहमा कलाकारहरूमा तबलामा संस्थापक तथा प्रमुख सदस्य सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमण महर्जन, गितारमा विकास सुनार र स्वरमा सरस्वती खत्रीले प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा नेपालका लागि पूर्व राजदुत स्कट डेलिसी लगायत अन्य राजदुतहरूको पनि उपस्थिति थियो । अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्रीले सबै अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रमपश्यात रात्री भोजनको समेत आयोजना गरिएको थियो ।

डेलिसीले सुर–सुधाको प्रस्तुतिलाई मुक्त कण्ठले प्रशंसा गरेका थिए । सुर–सुधा समूह अमेरिकाको विभिन्न राज्यहरूमा नोभेम्बरको अन्त्य सम्म आफ्नो प्रस्तुति गर्ने छन ।

अमेरिकाको विभिन्न राज्यहरूमा प्रस्तुति गर्ने सिलसिलामा गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्ग स्थित हिमालयन हेरिटेजमा सुर सुधाले अद्वितीय प्रस्तुति गरेको थियो ।

सुर सुधाले बिगत तीन दशकदेखि विश्वभरि नेपाल र नेपालीको पहिचान गराउँदै संसारका बिभिन्न मुलुकहरूमा संगीत प्रस्तुत गरि नेपालको नाम उच्च राख्न सफल भएका छन् । प्रारम्भमा शास्त्रीय संगीत मात्र प्रस्तुति गर्दै आएको सुर सुधाले धेरै बर्ष देखि गीत गाउने कलाकारहरूलाई समेत जोडेको छ ।

गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्गमा नेपालको लागी पूर्व अमेरिकी राजदूत स्कट डेलिसीको सहयोगमा अमेरिका नेपाल सोसाइटी (एएनएस) को संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित