२८ आश्विन २०८३, बुधबार

झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अहिले म बैतडी आइपुगेको छु ।

मैले यहाँका समस्या देखेको छु, जानेको छु र बैतडी म पहिलोपल्ट आएको होइन, धेरै पटक आएको छुु । २०५० साल वैशाख १ गते म बैतडीमा थिएँ । सिलिगुडी र डडेल्धुरामा थिए । ३ गते हामीले हाम्रा प्रिय नेताहरू गुमाएको जेठ ३ गते म कैलालीमा थिएँ । त्यसयता म यस ठाउँमा फेरि एकपल्ट आइपुगेको छु ।

२०७० सालको निर्वाचनमा समयले नभ्याएर मैले हेलिकप्टर तपाईंहरूको नजिकैसम्म ल्याएर हात हल्लाएर उड्नुपरेको थियो । तर, आज तपाईंहरूसँग यसरी प्रत्यक्षरूपमा भेटघाट गर्ने मौका मिलेको छ ।

झुलाघाटमा पुल बनाउने, अब थोत्रो पुलले हुँदैन । तपाईंहरूलाई म भन्न चाहन्छु– अबको जमानामा झुलाघाटमा पक्की पुल बन्छ । झुलाघाटमा पक्की पुल बनाउने त्यो जिम्मा एमालेले लिन्छ, म लिन्छु । किन लिन्छु भने, तपाईंहरूलाई थाहा छ, यो पुलको काममात्रै होइन, गोकुलेको प्राविधिक विद्यालय, यहाँ पाटनको भीमदत्त पन्त पोलिटेक्नि अथवा कृषिसम्बन्धी विद्यालयलाई स्तरोन्नतित गर्ने कुरा, प्राविधिक हिसाबले यहाँका भीमदत्त लगायत अरू विद्यालयहरूमा प्राविधिक विषयहरू, कक्षाहरू जोड्ने कुरा, राष्ट्रिय प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने, विकास गर्ने र त्यसमार्फत अनेक विकासका सामाजिक कामका अनेक अभियानलाई अगाडि बढाउने ती कुराहरू मलाई थाहा छ ।

त्यसैगरी, महाकाली करिडोर हामीले अगाडि बढाएका छौं, सुरु गरेका छौं । त्यो करिडोर हामी तयार गरेर अगाडि बढाउँछौं । महाकाली करिडोर हुँदै अत्यन्तै सुविधासाथ दार्चुला बजारसम्म पक्की बाटो जान्छ । त्यो कुरा म तपाईंहरूलाई भन्न चाहन्छु ।

यहाँ फस्फोराइड कारखाना, माइन, उद्योग, खनिज पदार्थको उत्पादन गर्ने र त्यसको प्रशोधन गर्ने, त्यसलाई विकास गर्ने सन्दर्भमा हाम्रो सरकारको समयमा माननीय लेखराज भट्टले मन्त्री हुँदा धेरै अगुवाई लिनुभएको थियो । माननीय दामोदर भण्डारीले यी कुराहरूका सम्बन्धमा अगुवाइ गर्नुभएको थियो ।

तर, कतिपय कुरा हामीले अगाडि बढाउँदा बढाउँदै सरकार परिवर्तन गर्ने, सरकारलाई काम गर्न नदिने अनेक प्रकारका तपाईंहरूलाई थाहा छ, मधुकैटभहरू कति उफ्रिएका थिए ! अब मधुकैटभको जमाना गयो । ती बाहिर भइसके । ती काँग्रेसका पछाडि, काँग्रेसका पनि शेरबहादुर देउवाका पछाडि लागिसके ।

म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग देखेँ, शेरबहादुर देउवा पाँचपल्ट प्रधानमन्त्री हुँदा देख्नुभएन । म यहाँको पुल देख्छु । म झुलाघाटको पुल देख्छु । शेरबहादुर देउवा देख्नुहुन्न ।

म भारतमा जाँदा दार्चुलाका सांसद गणेश ठगुन्नालाई पनि साथै लगेको थिएँ । उत्तराखण्डका मुख्यमन्त्री र त्यहाँका प्रदेश प्रमुख गभर्नरलाई राखेर उहाँसँगै गणेश ठगुन्नालाई राखेर तपाईंहरूले स्थानीय तवरमा पनि वार्ता गर्नुस् भनेँ । मैले दिल्लीबाट पनि, उत्तराखण्डबाट पनि पुल बनाउन पारिपट्टिबाट पनि मञ्जुर गराएको थिएँ । म तपाईंहरूलाई भन्न चाहन्छु– यी कामहरू हामी गर्नेछौं ।

महाकाली करिडोरको काम एमाले सरकारबाट

महाकाली करिडोर हामीले सुरु गरेका थियौं । अहिले नामै उच्चारण गर्दैनन् । हामीले गेटा मेडिकल कलेजको त्यत्रो भवनहरू बनायौं । अब त गन्यापधुरामा विश्वविद्यालय कि मेडिकल कलेज भन्न थाले ! गर्ने कुरा होइन यो । म शेरबहादुरजीलाई भन्न चाहन्छु– ढुक्क रहनुस्, गन्यापधुरामा स्वास्थ्य चौकी, डडेलधुरामा राम्रो अस्पताल र मेडिकल कलेज गेटामा यो स्थापना गरिने छ, सञ्चालन गरिने छ । सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाइने छ ।

राजनीतिक दाउपेचको कुरा होइन, जनतालाई विकास चाहिएको छ । नचाहिने कुरा होइन, चाहिने कुरा चाहिएको छ । डडेलधुरामा मेडिकल कलेज ! कहाँ बेला भएको छ, गेटामा चलाउनु परेन ? सबै तयारी भएका ठाउँमा पहिले गेटामा मेडिकल कलेज चलाउनुपर्छ अनि डडेलधुरामा सम्भव भयो भने भोलि विचार गरौला । तर, अहिले कहिले कहाँ घर बनाउने, कहिले कहाँ के गर्ने, केही अत्तोपत्तो छैन, गर्दिउँला भन्दिएको छ । त्यसकारण गेटा मेडिकल कलेज सुचारु गरिनेछ र सुदूरपश्चिमलाई स्वास्थ्यको क्षेत्रमा अगाडि बढाइने छ ।

सुदूरपश्चिमका क्याम्पस सामुदायिकमा परिणत

हामीले सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्यौं र त्यसलाई अगाडि बढायौं । सुदूरपश्चिमका क्याम्पसहरूलाई सामुदायिक क्याम्पसको रूपमा लगेर त्यहाँको खर्च सरकारले बेहोर्ने व्यवस्था मैले सुरु गरेको हो । क्याम्पसहरूलाई सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पसका रूपमा परिणत गरियो । त्यसकारण शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र यी सबै कुराहरूमा हाम्रो ध्यान जानेछ ।

तपाईंहरूलाई थाहा छ, जे काम गर्न पनि एमाले चाहिन्छ । हुलाकी राजमार्गको चर्चा चल्यो, त्यो बनाउन एमाले चाहियो । दुई तीन वर्षमा बन्दोरहेछ त, हामीले बनायौं । हजारांै पुल बनायौं । हजारौं किलोमिटर दुई लेन, चार लेन, छ लेनका बाटाहरू बनायौं । हरेक खोला करिडोर, महाकाली नदी करिडोर, कर्णाली नदी करिडोर, गण्डकी नदी करिडोर, गण्डकीका अनेक शाखाहरूमा नदी करिडोर, कोशी नदी करिडोर, कोशीका पनि अनेक शाखाहरूमा तमोर करिडोर, अरूण करिडोर, सुनकोशी करिडोर, तामाकोशी करिडोर विभिन्न कोशीका करिडोरहरू । खोलाका किनार किनारबाट बाटा लगेर अब नेपाल दुर्गम रहेन, दुर्गम भनिएका ठाउँहरू सुगम भए ।

ज्येष्ठ नागरिक र बालबालिका हेर्न एमाले नै चाहियो

अब ज्येष्ठ नागरिकहरू ढुक्क भएर बाँच्नका लागि एमाले चाहियो । २०५१ सालमा म गृहमन्त्री थिएँ । २०५१ सालमा हामीले एक सय रुपियाँबाट ज्येष्ठ नागरिक भत्ता सुरु गर्यौं । त्यसबेला कांग्रेसले कनिका छरेको भन्यो । त्यसको विरोध गर्यो । आज एमालेले ४ हजार मासिक पुर्याएपछि कहिले ६८ वर्षमा पाउनुपर्छ, कहिले ६५ मै पाउनुपर्छ भन्दै गएर २५ मै पाउनुपर्छ भन्न बेरलाग्दैन काँग्रेसले । तर, हामीले ज्येष्ठ नागरिकहरूलाई हेर्ने हो ।

ज्येष्ठ नागरिकहरूको भत्ता हामी वृद्धि गर्छौं भनेर गर्दै आएका छौं । फेरि गर्छौं भनेर हामीले फेरि आफ्नो घोषणापत्रमा पनि भनिआएका छौं । यो कुरा तपाईंहरूलाई पनि थाहा छ ।

बुढाबुढीलाई सम्झिन एमाले चाहियो । केटाकेटीलाई सम्झिन एमाले चाहियो । आज ठूला सहरहरूमा अनाथ भएर खातेका रूपमा फालिएका बालबच्चा एमाले सरकार बन्नेबित्तिकै सडकमा अनाथ बालबालिका, अभिभावकविहीन बालबालिका छैनन् । हामीले तिनको व्यवस्था गर्यौं । सडकमा फालिएका मान्छेहरू छैनन् । हामीले तिनको व्यवस्था गर्यौं ।

असहाय सडक मानवको व्यवस्थापन

अब भीखमङ्गाहरू छैनन्, हामीले व्यवस्था गर्यौं । अहिले सडकमा फेरि देखिनथालेका छन् भीखमङ्गाहरू । जब कङ्गाल बुद्धिका मान्छेहरू शासनमा हुन्छन्, सडकमा भीखमङ्गा देखिन्छन् । केही भीखमङ्गालाई पनि सरकारले व्यवस्था गर्न सक्दैन । सडकमा अलपत्र परेका, घर बिर्सिएका, बुढौतीले स्मरणशक्ति कम भएका अथवा मानसिक अवस्था कमजोर भएका अथवा विभिन्न कारणले सडकमा फालिन पुगेका मान्छेहरू केही हुन्छन्, लाखौं त हुँदैनन् । अर्बौं, करोडौं त हुँदैनन् । केही मान्छेको पनि व्यवस्था सरकारले गर्न सक्दैन ? गर्न सक्छ र एमालेले गरेर देखाएको छ ।

अब महिलालाई स्यानिटरी प्याड खर्च

हामीले महिलाहरूका लागि १५ सय रुपियाँ वार्षिक स्यानेटरी प्याडका लागि उपलब्ध गराउने व्यवस्था गरेका छौं । महिलाहरूलाई हामीले हेरेका छौं । महिला शिक्षालाई हेरेका छौं । यदि प्रजजनन्को समस्या पर्यो भने दुर्गम ठाउँमा सहज भएन भने हेलिकप्टर पठाएर महँगो भए पनि अस्पताल पठाएर सुरक्षित प्रजनन् गराउने प्रबन्ध एमालेले गरेको छ ।

२० वर्षमा नबनेका बाटा एमालेले ३ वर्षमा

देशमा २०, ३० वर्षमा नबनेका बाटा एमालेले ३ वर्षमा बनायो । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग एमालेले बनायो । २०२४ सालबाट सुरु गरेको पूर्व–पश्चिम राजमार्ग २०६२ सालसम्म लाग्यो तयार हुन । एमालेले दुई वर्षभित्र, चार वर्षभित्र पूर्व–पश्चिम राजमार्ग तयार गरेको छ ।

रात्रि हवाई सेवा सञ्चालन

नेपालमा हवाइ जहाज राती उड्दैनथे । अहिले धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुरमा, विराटनगर, भद्रपुर अरू विभिन्न ठाउँमा राती पनि हवाइ जहाज उड्छन् । अहिले प्लेन धनगढी आउँछ, त्यहीँ बस्छ, भद्रपुर जान्छ, त्यहीँ बस्छ । भोलिपल्ट बिहानै फर्कन्छ । त्यसखालका प्रबन्ध गरेका छौं ।

हजारौं किलोमिटर बाटा बनाइए । सात लाख ५० हजार भुइँचालोले भत्काएका घर हामीले पुनःनिर्माण गरेर पीडितहरूलाई हस्तान्तरण गर्यौं । आँधी–हुरीले उडाएका बारा र पर्सा जिल्लाका घरहरूका पीडितलाई पक्की घर बनाई हस्तान्तरण गर्यौं ।

वर्तमान सरकार तीन घाम सुकाएको कर्कलो जस्तो

अहिले स्वेच्छाचारी, तानाशाही, अधिनायकवादी सरकार छ, के हुन्छ ? मनपरीतन्त्रको पनि हद हुन्छ नि, यो त्यस्तो सरकार हो । बाहिर गयो भने तीन घाम सुकाएको कर्कलो जस्तो, घरमा आयो भने के के न हो कि जस्तो । त्यसकारण यस्तो सरकारबाट देशको काम हुँदैन ।

अब देशलाई विकास गर्नुछ । डिजिटल नेपालमा पुर्याउनु छ । हाम्रा बालबालिकालाई आधुनिक शिक्षा सिकाउनु छ । प्राविधिक शिक्षालयहरू खोल्नु छ । भएकाहरूलाई स्तरोन्नति गर्नुछ । ती कामहरू अरू कसैले गर्न सक्दैनन्, एमालेले गर्न सक्छ ।

कृषिको आधुनिकीकरण गर्नुछ । यी हाम्रा उर्बर हरिया पहाडहरूलाई त्यसै अनुसारको फलदायी पैसाको खानी बनाउनु छ । हाम्रा तराईलाई सिंचाई र उत्पादन, कृषिको आधुनिकीकरण, औद्योगिकीकरणबाट उत्पादनका केन्द्रहरू बनाउनु पर्नेछ । यी काम एमालेबाहेक अरूले हेर्दैन ।

एमाले सरकारद्वारा सेना, प्रहरीको स्तर निर्धारण

सेना, प्रहरीका सिपाहीहरू दर्जाबिहीन थिए । तिनीहरूको दर्जा थिएन । श्रेणी थिएन । उनीहरूलाई श्रेणीमा उतार्नका लागि एमाले सरकार चाहियो । मैले नै २०५१ सालमा श्रेणीमा राखेको हुँ । मैले नै सेनाका र प्रहरीका जवानहरूलाई श्रेणीविहीन अवस्थाबाट श्रेणीमा राखेको हुँ । प्रहरी सम्झन, सेना सम्झन, सेनालाई बङ्करबाट ब्यारेकमा ल्याउने, त्यो कार्यक्रम हामीले ल्याएका हौं । अरूलाई सेनामा रुचि छैन । अरूलाई प्रहरीको रुचि छैन । अरू पनि मान्छे हुन्, प्रहरी पनि मान्छे हो, सेना पनि मान्छे हो, शिक्षक पनि मान्छे हो, कर्मचारी पनि मान्छे हो, मजदुर–किसान मान्छे हुन्, सबैको दुःखकष्ट सरकारले हेर्नुपर्छ भन्ने कुरा नेकपा (एमाले) ले बुझ्छ र तदनुसार एमालेले गर्छ । म दाजुभाइ दिदीबहिनीहरूलाई आस्वस्त पार्न चाहन्छु ।

राष्ट्रियताको रक्षा र विकासका लागि एमाले

यस देशमा २००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकारलाई पाँच वर्ष टिक्न दिइएन । सरकारले पाँच वर्ष कहिल्यै पुग्न पाएन । ७२ वर्षमा एउटै सरकार पनि पूरै कार्यकाल टिकेन । चल्न दिएनन् । अस्थिरताको खेती गरियो । अब नेपाललाई नेपालीहरूको देश, नेपाली आफैँले चलाउने देश, नेपालको विकास नेपालीले गर्ने देश र नेपालीले नेपालमा स्थिरता र स्थायित्व कायम गर्ने देश बनाउनुपर्छ । एउटा सरकार बनेपछि सधैँ झमेला, सधैँ खिचलो, लोभीपापीहरूको लफडा गर्ने अवस्थाबाट मुक्त गर्नुपर्दछ । ५÷६ वटा लोभीपापीहरूको गठबन्धन बनाउने र गिद्धले जस्तै देशलाई चारतिरबाट लुछ्ने ? त्यो स्थिति अन्त्य गर्नुपर्दछ ।

अब राष्ट्रियताको रक्षा गर्न सक्ने, देशलाई स्थायित्व, स्थिरता कायम गर्न सक्ने, कृषिको आधुनिकीकरण र विकास गर्न सक्ने, उद्योगधन्दाको स्थापना र विकास गर्न सक्ने, पर्यटनको विकास गर्ने, सेवाको विकासलाई अगाडि बढाउन सक्ने, यातायातलाई समेत विद्युतीय बनाउन सक्ने सरकार बन्नुपर्छ । अब आफ्नो ऊर्जा उत्पादन बेस्सरी बढाउने र त्यसको खपत सकेसम्म देशभित्रै गर्ने र १५ हजार मेगावाटसम्म हाम्रो खपत पुर्याउने काम गर्नुपर्छ ।

नागरिकको जीवनस्तर सुधारका लागि २० ग्यारेन्टी

हामीले ५ वर्षभित्र ६ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने, अहिले १५ सय लगभग छ । त्यसलाई पाँच वर्षमा बढाएर चार गुणाभन्दा बढी उत्पादन गरेर नेपाललाई विद्युतमय बनाउने, सतप्रतिशत जनसंख्यामा विद्युतीकरण पुर्याउने, सतप्रतिशतमा खानेपानीको व्यवस्था गर्ने, सबै बालबालिकालाई विद्यालय पुर्याउने, सबै बालबालिकालाई विद्यालयबाट निस्किने अवस्था नबनाउने, सबैका लागि प्रारम्भिक स्वास्थ्य उपचार, ब्लड प्रेसर, सुगरजस्ता बिरामीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने नयाँ कार्यक्रमहरूका साथ निर्वाचनमा आएका छौं ।

तपाईंहरूले सुन्नुभएको ट्वान्टी ग्यारेन्टी (बीस प्रतिबद्धता) मा बच्चा गर्भमा छँदादेखि मृत्युपर्यन्त के के राज्यबाट पाउनु पर्ने हो, के के गर्नुपर्ने हो, त्यो कामका लागि ग्यारेन्टी गरेका छौं । बाटाघाटाको, बिजुलीको, पूर्वाधारको, शिक्षाको, स्वास्थ्यका, सुकुम्बासी समस्याको, घरवारविहीनहरूको, हलियाहरूको, कमैयाहरूको सबैको समस्या समाधान गर्नेगरी विषय समेटेर २० ग्यारेन्टी नेकपा (एमाले) ले ल्याएको छ ।

हामीले विगतमा के गर्यौं ? ४१ महिना सरकारमा हुँदा ४२ वटा माइलस्टोन (कोशेढुङ्गा), ४२ वटा उल्लेख्य कामहरू हामीले गरेका छौं । हामीले पूर्व–पश्चिम राजमार्गलाई चौडा गर्दैछौं । हामीले जनकपुरमा रेल ल्याएका छौं । तपाईंहरूले टिकटक हेर्नुभयो होला, अस्ति म आफैँ गएर आपूmले ल्याएको रेल टिकट काटेर चढेको तपाईंहरूले हेर्नुभयो होला । हामी पूर्व–पश्चिम रेल चलाउँदै छौं । उत्तर–दक्षिण चीन र भारतसँग जोड्ने रेल बनाउँदै छौं ।

म दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु– त्यसको सर्भे हुँदैछ । यी कामहरू पार लगाउन स्थिर सरकार, राष्ट्रिय शक्ति एउटा चाहिन्छ, जसले गठबन्धन, गठजोड, ङ्यारङ्यार गरेर सत्ताको लुछाचुडीमा अल्मलिएर जिन्दगी बर्बाद गर्ने, देश बर्बाद गर्ने, जनतालाई दुःखकष्टमा पार्ने, महँगी बढाउने अहिलेको जस्तो गठबन्धनवाला सरकार होइन ।

सरकार भनेको, राज्य चलाउने कुरा भनेको टालाटुली जोडेर पुतली बनाउने कुरा होइन । यी अहिलेका जस्ता कठपुतली, जुन कठपुतली जस्तो सरकार छ, यो टालाटुली बटुली कति राम्री कठपुतली ! यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, देश बन्दैन ।

त्यसकारण म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, एउटा मजबुत राष्ट्रिय शक्ति चाहिएको छ । त्यो राष्ट्रिय मजबुत शक्ति, भिजन भएको, देश बनाउने भिजन भएको, नीति भएको, कार्यक्रम भएको, योजना भएको, जनतालाई हेर्ने, जनतालाई चिन्ने, जनताका समस्या बुझ्ने, समाधानको बाटो थाहा पाउने एमालेको सरकार चाहिन्छ । त्यसकारण हामीले भनेका छौं, मैले भन्नुभन्दा पनि म तपाईंहरूलाई भन्न लगाउँछु, तपाईंहरूलाई थाहा छ के गर्नुपर्छ । म भन्छु तपाईंहरूले जवाफ दिनुस्– मंसिर ४ ! (जनताबाट) ओली सरकार ! मंसिर ४ ! ओली सरकार ! मंसिर ४ ! ओली सरकार ! यो कुरा जनतालाई थाहा छ ।

हामी स्थिर सरकार, सुदृढ सरकार, मंसिर ४ एमाले सरकार । यो कदमका साथ अगाडि बढेका छौं । यो आजको आवश्यकता हो । एमालेलाई सरकारमा पुग्नका लागि होइन, देश बनाउनका लागि, देशको रक्षा गर्न, देशको सीमानको रक्षा गर्न, हामीले जुन नक्सा बनाएका छौं, त्यो नक्साको जमिन फिर्ता ल्याउन, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन र समृद्ध नेपाल, सुखी नेपाली बनाउन नेकपा (एमाले) को सरकार चाहिन्छ । पाँच वर्ष एमालेले गर्छ, देशका लागि जे गर्छ एमालेले गर्छ । भरपर्दो कोही छ भने एमाले छ । त्यसकारण मंसिर ४ गते नेपाली जनताले ऐतिहासिक निर्णय लिनुपर्ने छ । गठबन्धन बाई बाई, एमाले हाइ हाइ ! मंसिर ४ गतेको फैसला हो ।

नेकपा (एमाले) लाई तपाईंहरूले सरकारमा पुर्याउनुभयो तर मुद्दा लडेर, गठबन्धन गरेर लोभीपापीहरू मिलेर अदालतमा गएर कीर्ते मुद्दा हालेर असंवैधानिक फैसला गरेर परमादेशबाट जनादेश उल्टाएर एमालेलाई हटाइएको छ । म तपाईंहरूसँग आग्रह गर्न चाहन्छु, परमादेशलाई हटाएर जनादेशबाट विकासप्रेमी, जनप्रेमी, राष्ट्रवादी एमाले सरकार मंसिर ४ मा गठन गर्नुपर्दछ । यसका निम्ति म तपाईंहरूलाई आह्वान गर्न चाहन्छु ।

तपाईंहरूले बुझ्नु नै भएको छ, तपाईंहरूले थाहा पाएर नै, जानेर, बुझेर आज यो अत्यन्तै भव्य उपस्थिति यस ठाउँमा बनाउनुभएको छ । यसका निम्ति म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु । यस अभियानलाई अगाडि बढाउनका लागि म तपाईंहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु ।

मंसिर ४ गते सूर्यमय हुनेछ नेपाल

अब नेपालभरि दुईवटा झण्डा फहराउने छन्– चन्द्र–सूर्य भएको राष्ट्रिय झण्डा र अर्को सूर्य भएको नेकपा (एमाले) को झण्डा । मंसिर ४ गते सूर्यमय हुनेछ नेपाल । एमालेमय हुनेछ नेपाल र केन्द्रदेखि प्रदेशसम्म नेकपा (एमाले) ले सरकार बनाउने छ । यही अभियान आजको राष्ट्रिय आवश्यकता परिपूर्तिको हो । त्यसकारण म यहाँहरूसँग भेट्न आएको हुँ । म यहाँहरूलाई यही आग्रह गर्दछु ।

मंसिर ४ गते दामोदर भण्डारीले जित्ने कुरामा कुनै शङ्का छ र ? छैन होइन ? तपाईंहरूको तर्फबाट भोट हाल्न मंसिर ४ गते पर्खिने होला तर तपाईंहरूको तर्फबाट म दामोदर भण्डारीजीलाई एउटा बधाई माला अहिले नै लगाइदिएर बिदा हुन्छु । धन्यवाद !

(नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७९ कात्तिक १८ गते बैतडीमा आयोजित विशाल चुनावी सभालाई गर्नुभएको सम्बोधनको सम्पादित पूर्णपाठ ।)