शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी

दैनिक नेपाल २०७९ कार्तिक १७ गते ८:१५

काठमाडौं, १७ कात्तिक । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत निर्माण गरिने प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आगामी मंसिर महिनाभित्र हुने भएको छ ।  मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले आगामी डिसेम्बर अर्थात् (मंसिर १४) गतेभित्र एमसिसी प्रसारण लाइन सम्बन्धित बोलपत्र तयार पारेर आह्वान गर्ने तयारी गरिरहेको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आगामी डिसेम्बर महिनाभित्र प्रसारण लाइन आयोजनाको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्ने तयारी गरेको बताए । ‘एमसिसी अन्तर्गत बन्ने प्रसारण लाइनको लगभग बिडिङ डकुमेन्ट तयार भइसकेको छ,’ उनले भने ‘सम्भवत् डिसेम्बर महिनाभित्रै टेण्डर आह्वान गरिसक्नेछौं  ।’

एमसिए नेपालले पहिलो चरणमा ४०० सय केभीको डबल सर्किट ३१५ किलोमिटर प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्नेछ । यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ । यो प्रसारण लाइन आयोजना उच्च भोल्टेज अर्थात् ४०० केभी बिजुली लैजान निर्माण गर्न लागिएको हो ।’ उनले भने, ‘३१५ किलोमिटर प्रसारण लाइनमध्ये दायाँबायाँ २३÷२३ मिटर छाडेर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।’

एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनाको ठेक्का प्रक्रिया पारदर्शी ढंगको हुने बताए । ‘एमसीसीको ठेक्का प्रक्रिया फेडिक एलो बुक अनुसार आह्वान गरिन्छ,’ उनले भने ‘एमसिसीको अन्तर्राष्ट्रिय ठेक्काको टेण्डर प्रक्रिया ४२ दिनदेखि १८० दिनसम्मको हुनेछ  ।’ कार्यकारी निर्देशक विष्टले एमसीसीको ठेक्का प्रक्रियामा इरान, इराक, उत्तर कोरिया लगायतका मुलुकले बाहेक अन्य जुनसुकै मुलुकका कन्ट्र्याक्टरले निर्माणमा प्रतिस्पर्धा गर्न पाउने बताए ।

‘एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा सरकारी निकायबाहेक अन्य जुनसुकै निर्माण व्यवसायी पनि प्रतिस्पर्धा गर्न सक्नेछन्,’ उनले भने, ‘यो एमसीसीको प्रोग्राम प्रोक्योरमेन्ट गाइडलाइन अनुसार टेण्डर गरिनेछ । यसमा सबैभन्दा कम वा धेरै रकम कबोल गर्नेभन्दा पनि ठेकेदार कम्पनीले काम गर्न सक्ने वा नसक्ने पक्षलाई विशेष गरेर हेर्ने गरिन्छ ।’

कार्यकारी निर्देशक विष्टले एमसिसी अन्तर्गतको प्रसारण लाइनको ठेक्का बिल्ट एण्ड डिजाइनअन्तर्गत लगाइने बताए । ‘यो ठेक्कामा ठेकेदार कम्पनीले आफैं डिजाइन तयार गर्ने र निर्माण गर्ने गरी निर्माण गर्न लागिएको हो,’ उनले भने ‘प्रसारण लाइनको ठेक्का आह्वान गरेको एक ÷डेढ महिनाभित्रै सबस्टेशन निर्माणको टेण्डर आह्वान गर्नेछौं ।’

एमसिए नेपालले यो परियोजना निर्माणको काम भने २०८० देखि निर्माण हुने जनाएको छ । ‘यो आयोजना इन्ट्री टु फोर्स सन् २०२३ को अगष्ट महिनादेखि गर्ने कार्यतालिका बनाएका छौं,’ कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीसीको ६ पूर्वशर्तमध्ये अहिलेसम्म ५ वटा शर्त पूरा भइसकेको छ। जग्गा प्राप्ति, रुख कटानी र निर्माण क्षेत्रमा पहुँच लगायतको एउटा शर्त मात्रै पूरा गर्न बाँकी छ। सम्भवतः यो कार्य पनि एक वर्षभित्रै सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौं ।’

प्रसारण लाइनको लागि दायाँबायाँ २३÷२३ मिटर चौडा भोगाधिकार (राइटवे) भित्र आठ सय ५४ वटा टावर निर्माण गरिनेछ । यो प्रसारण लाइनअन्तर्गतका टावरको उचाइ मात्रै ४३ देखि ९२.५ मिटर अग्लो हुनेछ । प्रत्येक टावरमा भूमिगत तार समेत रहनेछ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित