शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘५ वर्ष एमालेले गर्छ !’

दैनिक नेपाल २०७९ कार्तिक १६ गते ८:१२

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले विगतमा आफ्नो नेतृत्वको सरकारले गरेका कामलाई उपलब्धिका रूपमा व्याख्या गर्दै आगामी ५ वर्षमा २० वटा मुख्य काम गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट सार्वजनिक गरेको घोषणापत्रमा शासकीय स्वरूपमा मौन बस्दै विकास निर्माण र देश विकासका नीतिगत मुद्दाहरूलाई उठान गरेको छ ।

एमालेले आगामी ५ वर्षमा २० वटा काम ग्यारेन्टीका साथ काम गर्ने प्रतिबद्धता गरेको छ । ‘विगतका निर्वाचनहरूमा चुनावी घोषणापत्रका रूपमा जारी गरिएका दलहरूका प्रतिबद्धता व्यवहारमा पूरा भएनन् भन्ने प्रश्न उठ्ने गरेका छन्’, एमालेको घोषणापत्रमा भनिएको छ, ‘त्यसैलाई ध्यानमा राखी यस निर्वाचनमा हाम्रो पार्टीले सरकार गठन हुादा ग्यारेन्टीका रूपमा २० विषयलाई लागू गर्ने प्रतिबद्धता अघि सारेको छ ।’

आर्थिक क्षेत्रमा पनि एमालेले राम्रा नीतिहरू अगाडि सारेको छ । दिगो आर्थिक विकासः उच्च आर्थिक वद्धि दरको प्रतिबद्धता अगाडि सारेको छ । यसमा अहिलेको ४८ खर्ब रुपैयाँको कुल गार्हस्थ्य उत्पादनलाई बढाएर १०० खर्ब रुपैयाँ पु¥याउने प्रतिबद्धता एमालेले गरेको छ । ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आयलाई बढाएर औसत २ हजार ४०० अमेरिकी डलर पुर्‍याउने एमालेको प्रतिबद्धता छ ।

उद्योग दर्ता ७ दिनभित्र गरिदिने र दर्ता नभए कारणसहित फिर्ता गरिदिने, बिनाकारण दर्ता गर्न ढिलाई गरे कर्मचारीलाई कारबाही गर्नेलगायतका प्रतिबद्धता जनाएको छ । त्यस्तै, सहकारीबाट व्यवसाय प्रवद्र्धन, नागरिकको आर्थिक उन्नयन, औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण, पर्यटन र संस्कृति : राष्ट्रको समुन्नति, वन र वातावरणको सरक्षण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, एक सामुदायिक वनः एक वन उद्यमको अवधारणा कार्यान्वयन, स्वच्छ खानेपानी जनताको हक, विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारलगायतको प्रतिबद्धता समेत एमालेले गरेको छ ।

‘शिलान्यास गरेको ५, १० र १५ शय्याका ३९६ वटा स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य २ वर्षभित्र सम्पन्न गर्ने एमालेको प्रतिबद्धता छ । ‘सुरु गरेको जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गर्ने’, प्रतिबद्धतामा उल्लेख छ ।

काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने अस्पतालहरूको निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ । एमालेको सरकार बनेमा ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने तथा कडा, असाध्य रोगहरूको उपचार निःशुल्क गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

महिलाका लागिसमेत एमालेले भत्ताको व्यवस्था गर्ने भनेको छ । महिनावारी हुने उमेर समूहका महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक १ हजार ५०० रुपैयाँ दिने एमालेको प्रतिबद्धता छ । श्रमिकको तलब मासिक न्यूनतम २५ हजार रुपैयाँ पु¥याउनेसमेत उल्लेख गरेको छ ।

श्रमका क्षेत्रमा एमालेले आफू सरकारमा हुँदा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम दिने घोषणा गरेको छ । ‘श्रम गर्न सक्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गरी न्यूनतम ६ महिनाको रोजगारी उपलब्ध गराइनेछ’, एमालेले भनेको छ, ‘औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछन् ।’

सशस्त्र द्वन्द्वपीडितका लागि पनि विशेष व्यवस्था गरिने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पनुः स्थापना गरिने एमालेले भनेको छ । एसिड आक्रमणविरुद्धको ऐन बनाउने एमालेले प्रतिबद्धता गरेको छ । एसिड आक्रमणमा परेका पीडितलाई उपचार, पुनस्र्थापना र रोजगारी दिनेसमेत एमालेको भनाइ छ । यौनजन्य हिंसा, बलात्कार, महिलाद्वेषी संस्कारबाट समाजलाई मुक्त गर्न विशेष सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नेसमेत एमालेको घोषणापत्रमा छ ।

तीनै तहका सरकारलाई समन्वय कारी भूमिकामा काम गर्ने एमालेको प्रतिबद्धता छ, जसका लागि एकीकृत बस्तीको गुरुयोजना अगाडि बढाउने, प्रदेशमा बाँकी रहेका सबै संरचना बनाउने, अधिकार प्राप्तिका लागि सङ्घ र प्रदेशबाट बन्न बाँकी सबै कानुन बनाउने, स्थानीय तहका कर्मचारीको क्षमता वृद्धि गराउने, जिल्ला समन्वय समितिको अनुगमनकारी भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउने, बसाइँसराइ रोक्न आवश्यक कदम चाल्नेलगायतका घोषणा एमालेले गरेको छ ।  आजको दनेपालटप मा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित