शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

षडयन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनर्स्थापित गर्ने मूल्यवान मौका हो ४ मंसिर

केपी ओली २०७९ कार्तिक १५ गते १६:०५

आदरणीय दिदीवहिनी तथा दाजुभाइहरू !

आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश आसभाको निर्वाचनका अवसरमा नेकपा (एमाले) यहाँहरूलाई हार्दिक अभिवादन गर्दछ ।

राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवादको लक्ष्य प्राप्तिका लागि गरिएका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय शहीदहरूप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । नेकपाका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत अग्रजहरूप्रति उच्च आदर प्रकट गर्दछ ।

आन्दोलनमा घाइते तथा बेपत्ता पारिएका योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछ, र समाज परिवर्तनको यस अभियानमा अनेकौँ दुःख, कष्ट र त्यागका साथ निर्णायक भूमिका खेल्नुहुने तपाईं आम जनसमुदायमा कृतज्ञतासहित अभिनन्दन गर्दै न्याय, समानता र समृद्धिको जनआकांक्षा पूरा गर्न अविचलित निष्ठाका साथ लागिरहने दृढ सङ्कल्प गर्दछ ।

सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा निर्माण गरिएको नेपालको संविधानअन्तर्गत प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो निर्वाचन हुँदैछ । गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बिचमा हुन गइरहेको यस निर्वाचनको विशेष महत्त्व छ । हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ । आज राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रले कुन ध्रुव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्नेछ ।

– राष्ट्रिय हित, स्वाधीनता र स्वाभीमानको रक्षा कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात ?

– राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँडका नाममा अन्त्यहीन अस्थिरता र किचलो ?

– मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरूपयोग ?

– राष्ट्रिय पुँजी निर्माण, आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोहन, परनिर्भरता र बर्बादी ?

– समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरूको स्वार्थको परिपूर्ति ?

– स्वार्थमा आधारित गठबन्धन कि नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्तिको निर्माण ?

सार्वभौम मतदाता ! यहाँको एक मतले देशको भाग्य कोर्ने भएकाले आफ्नो अमूल्य मत खसाल्नुअघि यी प्रश्नहरूमा गम्भीरतापूर्वक विचार गर्न हामी विनम्र आग्रह गर्दछौं । यस निर्वाचनमा ‘राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर नेकपा (एमाले) तपाईंहरूसमक्ष प्रस्तुत भएको छ ।

ऋाम निर्वाचन २०७४ मा तपाईंहरूले नेकपा (एमाले) र यसको नेतृत्वको वाम लोकतान्त्रिक तालमेललाई समर्थन गर्दै व्यक्त गर्नुभएको भरोसाको सुखद स्मरण गर्दछौं । राजनीतिक स्थायित्व र समृद्धिको अपिललाई विश्वास गरेर शासन सञ्चालनको जनादेश दिनु भएकोमा तपाईंहरूप्रति आभारी छौं ।

निर्वाचनपछि उक्त तालमेल पार्टी एकीकरणका तहमा विकसित भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो र राजनीतिक स्थिरताको आधार निर्माण भयो तपाईंहरूको विश्वासलाई शिरमा राखेर हामीले साढे तीन वर्ष सरकार सञ्चालन गर्यो । इतिहासले विरासतमा छाडेका अनगिन्ती समस्याका चाङ र पछिल्लो समय थपिएको को भिड महामारीको चुनौतीकाबीच पनि त्यो सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रह्यो ।

छोटो अवधिमै हाम्रो नेतृत्वमा संविधानको सफल कार्यान्वयन गरियो । प्रदेश र स्थानीय सरकारहरू गतिशील बने । संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै सङ्घीयताको सफल कार्यान्वयनको यो उदाहरण विश्वमै नौलो हो । यसै अवधिमा पृथकतावाद र हिंसाका चुनौती समाप्त पारिए ।

सिके राउत र नेकपा (विप्लव) समूहहरूलाई राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण प्रतिस्पर्धाको मूलधारमा आबद्ध गरियो मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त भयो । संविधानप्रति असन्तुष्ट दलहरूसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनु यस अवधिका उल्लेख्य उपलब्धि हुन्

हामीले सार्वभौम समानता, पारस्परिक लाभ एवम् सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर विदेश सम्बन्ध सुदृढ गर्यो । कतिपय नसुल्झेका समस्या सुल्झायौँ र थुप्रै नयाँ कामहरू अघि बढाई सम्बन्धलाई नयाँ उचाइमा पुर्यायौँ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका नेपालका भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्यौं । अभूतपूर्व राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्यो । यी भूभाग नेपाललाई फिर्ता गर्न कूटनीतिक संवाद सुरु गर्यो । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यताबाट निर्देशित हुँदै नेपालले यस अवधिमा बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास गयो । अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि विकासोन्मुख, लोकतान्त्रिक र प्रगतिशील राष्ट्रका रूपमा स्थापित हुँदै गयो ।

जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो ।

‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्य प्राप्त गर्न नीति र संरचनागत कामको थालनी गरियो । दीर्घकालीन र रणनीतिक महत्त्वका पूर्वाधार निर्माण थालनी गरिए । भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको उदाहरणीय सफलता हासिल भयो । क्षतिग्रस्त लाखौँ निजी आवास, हजारौं सांस्कृतिक सम्पदा, विद्यालय भवन र सरकारी कार्यालयहरूको पुनर्निर्माण गरियो ।

सरकार निर्माणपछि लगातार सात (७) प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै नेपालले विश्वको ध्यान आकर्षण गर्न सफल भयो । बाह्य लगानीमा ठुलो परिमाणमा वृद्धि भयो निरपेक्ष र बहुआयामिक गरिबी दुवै उल्लेख्य रूपमा घटे । संयुक्त राष्ट्र सङ्घबाट हाम्रो देशलाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भयो ।

मानव विकास, शान्ति, खुसी, बहुआयामिक गरिबी, व्यवसायिक सहजता, लैङ्गिक समानता, दिगो विकासमा लक्ष्यलगायत विश्वव्यापी सूचकहरूमा नेपालले उल्लेख्य सुधार गयो हामीले यस अवधिमा सामाजिक न्याय र सुरक्षाको दायरालाई गुणात्मक विस्तार गर्दै जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नयाँ युगको अनूभूति दिलाउन सफल भयौँ ।

राष्ट्रको गौरवपूर्ण इतिहासको स्वत्व जगाउँदै स्वाभिमान र आत्मविश्वासको जग बलियो बनाएर राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासन र विकासको सम्बन्धमा नयाँ दृष्टिकोण (भिजन) दिँदै अनेकौं युगान्तकारी नीति र कार्यहरूमार्फत् देशमा नयाँ भविष्यसहितको विकासको नयाँ युगको प्रारम्भ गर्यो ।

‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा प्राप्त यी उपलब्धिले नेपाली जनतामा सुखद भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बन्दै गयो ।

दाजुभाइ तथा दिदीबहिनीहरू !

नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैंभरि मुख्य बाधकका रूपमा रहँदै आएका छन् । त्यस अवधिमा यी बाधाहरू निकै हदसम्म नियन्त्रण भएका थिए । राजनीतिक स्थायित्व हासिल भएको थियो, प्रणालीगत स्थिरता कायम भएको थियो र राष्ट्रले आफ्नो सार्वभौम अधिकार प्रयोगको क्षमतालाई बलियो बनाउँदै लगेको थियो । राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएका थिए ।

तर, सधैंभरि अस्थिरता, अस्तव्यस्तता र अनिश्चयताभित्रै आफ्ना स्वार्थ पूर्ति गर्न बानी परेकाहरूका लागि यस्तो स्थायित्व स्वीकार्य थिएन त्यसैले सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएलगत्तै यसलाई असफल बनाउने प्रयास सुरु गरिए । तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए ।

उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठुलो भयो । राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो । र, आन्दोलनका सहयात्रीभन्दा दक्षिणपन्थी शक्ति बढी प्रिय बन्न पुगे । कोभिड महामारीबाट नागरिकको जीवन र जीविका रक्षाका लागि सरकारले कठोर प्रयत्न गरिरहेको बेला यिनै पात्रहरूको योजनामा सरकार ढाल्ने प्रपञ्च गरियो ।

जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो ।

प्राप्त जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वाभाविक एवम् लोकतान्त्रिक विधि थियो तर त्यसो हुन दिइएन ।

अदालतको चरम दुरूपयोग र संविधानको अपव्याख्या गरियो, सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित भयो, शक्ति पृथक्कीकरणको सिद्धान्त कुल्चिइयो र कानुन र सरकार निर्माण एवम् परिवर्तन गर्ने संसदको अधिकारलाई कुल्चिदै अदालतका परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने अलोकतान्त्रिक एवम् स्वेच्छाचारी नजिर स्थापित गरियो जनादेश विस्थापित हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरु भयो लोकतान्त्रिक प्रणालीको मर्मका रूपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरूमाथि सम्बन्धित दलको पिसमेत नलाग्ने निर्दलीय अभ्यास सुरु गरियो ।

ताजा जनादेशका लागि जनताका बिचमा जाने विषयलाई ‘प्रतिगमन’ र असंवैधानिक एवम् असंसदीय तरिकाबाट परमादेशमार्फत सरकार बनाउनुलाई ‘अग्रगमन’ को जनविरोधी भाष्य निर्माण गर्ने कुप्रयास गरियो गठबन्धनका नाममा राजनीतिलाई असाध्यै विकृत, नीतिविहीन र सत्तास्वार्थको बन्दी बनाइयो ।

गठबन्धन सरकारको १६ महिनाले अकाट्य ढङ्गबाट पुष्टि गरेका छन्– जनादेशबाट गठन भएको सरकारलाई परमादेशबाट विस्थापन गर्नुको उद्देश्य सरकार परिवर्तन मात्रै थिएन । यो त स्वार्थपरक देशी–विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धार नै उल्टो दिशामा फर्काउनु थियो अर्थात् स्पष्टतः प्रतिगमन थियो ।

सबल बन्दै गएको राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुर्याउँदै बाह्य चलखेलका लागि ढोका खोल्न, राजनीतिक स्थायित्वलाई समाप्त पार्दै मुलुकलाई अनन्त अस्थिरतातिर धकेल्न र सेटिङका माध्यमबाट सिङ्गो राज्यसंयन्त्रलाई सीमित नेताहरूको स्वार्थपूर्तिको माध्यम बनाउन यी सबै प्रपञ्च रचिएको थियो ।

त्यस घटनाका नकारात्मक असरबाट आज मुलुक आक्रान्त छ । हरेक दृष्टिले मुलुक सङ्कटका सँघारमा छ लोकतन्त्रको धज्जी उडाइएको छ र अग्रगतिको यात्रालाई उल्ट्याउने काम गरिएको छ विकास र समृद्धिको यात्रा अवरुद्ध गरी देशलाई ओरालोतिर धकेलिएको छ । यस गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउनु छ ।

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्नु छ । यसर्थ, आगामी निर्वाचन यस सङ्कटको चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर हो । षडयन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनर्स्थापित गर्ने मूल्यवान मौका हो आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौं भनी संसारलाई देखाउने अनुकूल समय हो । यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनतासमक्ष हार्दिक अनुरोध गर्दछौँ ।

(नेकपा एमालेले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समावेश पार्टी अध्यक्षको अपिल ।)

प्रतिक्रिया
सम्बन्धित