२९ आश्विन २०८३, बिहिबार

मेलबर्नमा ॐ ध्वनी उच्चारण गर्दै यसरी गरियो म्हः पूजा (फोटोफिचर)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न, ११ कात्तिक । दिदी–बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाद्वारा ॐ ध्वनी उच्चारण र हास्य योगसाथ बहु जातीय सक्रियता र सहभागितामा म्हः पूजा सम्पन्न गरेको छ ।

कार्यक्रममा न त प्रमुख अतिथि थियो, न त आसन ग्रहण गराउने र खादा लगाउने कार्यक्रम नै । म्हः पूजामा आत्मपुजन गरिने भएकाले यो चाडलाई नेवार समुदायमा मात्रै सीमित नगरी अन्य समुदायले पनि मनाउन थालेका छन् ।

अझ यसलाई ध्यानसँग पनि जोड्नु उपयुक्त हुने भन्दै गत वर्षदेखि म्हः पूजा गर्दा ॐ ध्वनी उच्चारण गरी गर्ने गरिएकोमा यो पटकको म्हः पूजामा बुद्धिज्मलगायत विभिन्न ११० पुस्तकका लेखक एवम् सम्पादकको भूमिका निर्वाह गरिसकेका डा. किशोर बैद्यले हास्य योगको सैद्धान्तिक पक्षको बारेमा बताएर सहभागीहरूलाई हास्य योग गराएका थिए ।

हास्य योग गर्नु अघि दिदी–बहिनी समाज भिक्टोरियाकी उपाध्यक्षले सहभागी सबैलाई आँखा चिम्लेर पहिला लामो लामो स्वास लिन लगाएर ॐ ध्वनी उच्चारण गर्न लगाएका थिए । दिदी–बहिनी समाज भिक्टोरिया वेष्टकी संयोजक रोशनी श्रेष्ठले कार्यक्रमको शुरुमा म्हः पूजाको सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए ।

दिदी–बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा. जमुना पराजुलीले संस्थाको एउटा प्रमुख उद्देस्य सहभागितामूलक तवरबाट संस्कृतिको संरक्षण र सम्बर्द्धन प्राप्ती कार्यको राम्रो उदाहरण बन्न पुगेको म्हः पूजा कार्यक्रममा नियमित रूपमा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।

लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले हाम्रो फोक्सोमा करीब एक करोड छिद्रहरू हुने, तर हामीद्वारा प्रायः छोटो छोटो स्वास लिने गरिनाले करीब चालीस हजार छिद्रहरूले मात्रै काम गर्ने र काम नगरेर बुझिएका अधिकाधिक छिद्रहरूलाई बिस्तारै खुलाउँदै लैजाने सबैभन्दा राम्रो बिधि प्राणायामकै सहयोगी कार्यको रूपमा हास्य योगलाई लिन सकिने बताए ।

म्हः पूजा गर्ने सबैलाई ८० वर्षीया दिलमाया श्रेष्ठ (कान्छी)द्वारा टीका लगाइदिने, पूजा गर्ने र घ्वाल्ल गर्ने गरिएको थियो ।

फरक, सहभागितामूलक, सिर्जनशील, महिला सशक्तीकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरूका कारण आफ्नो छुट्टै पहिचान बनाउन दिदी–बहिनी समाज भिक्टोरिया सफल भएको छ ।