बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चितवनमा डेंगु सङ्क्रमित दुई हजार नाघे

दैनिक नेपाल २०७९ कार्तिक ११ गते ८:१४

भरतपुर, ११ कात्तिक । चितवनमा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगु देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेंगु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । उनले जाडो बढेसँगै डेङ्गु कम हुँदै जाने अनुमान गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित