बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

देउसी–भैलोमा रमझमियो सोनादाको प्रशान्ति ग्राम (फोटोफिचर)

दैनिक नेपाल २०७९ कार्तिक ८ गते १५:४६

दार्जिलिङ (भारत), ८ कात्तिक । अहिले रमाइलो तिहारको रमझममा समग्र दार्जिलिङ पहाड सयपत्री फूल र रङ्गीबिरङ्गी बत्तीले झिलिमिली भएको छ ।

विश्वभरि छरिएर बसेका नेपालीहरू आफ्नो चाडपर्व मनाउन कहिले पछि पार्दैनन् । जसरी शरीरलाई छायाँले पछ्याइरहेको हुन्छ त्यस्तै हरेक व्यक्तिलाई उसको संस्कार, परम्परा र संस्कृतिले पछ्याइरहेको हुन्छ ।

विश्वका कुनै पनि कुनामा बसेका नेपालीले तिहारका बेलामा देउसी–भैलो बिर्सेको कहिले पो होला र ! दार्जिलिङदेखि करिब १८ किलोमिटर टाढा सोनादा बजारको गाउँ प्रशान्ति ग्राममा आज पनि नेपाली संस्कृतिलाई निक्कै कसिलो रूपमा संरक्षण गर्दै आइरहेको छ । आज पनि त्यहाँ नेपाली पारम्परिक घर निर्माण गरेर समग्र गाउँले सामूहिक रूपमा देउसी–भैलो खेल्ने गरेका छन् ।

यसका निम्ति त्यहाँ देउसी–भैलोको कार्यक्रम वर्षेनी आयोजना गरिन्छ । यसपाली भने प्रशान्ति ग्राममा देउसी–भैलोको विशेष कार्यक्रममा समग्र गाउँ नै रौसिलो परिवेशमा रम्मियो ।

गाउँभरका युवा–युवतीदेखि बुढापाका सबै नै तिहारको यस विशेष कार्यक्रममा रमझमिए । सन् २००० देखि प्रशान्ति ग्राममा नेपाली परम्पराअनुसार देउसी–भैलोको विशेष कार्यक्रम आयोजना गरिन थालिएको हो ।

सन् १९७७ मा प्रशान्ति ग्रामको नाम गैरी गाउँ थियो अनि त्यहाँ गैरी गाउँ ग्राम सुधार समिति गठन भएको थियो । त्यति बेला गैरी गाउँमा समितिले घर घरमा गएर देउसी–भैलो खेल्ने गरिन्थ्यो । बिस्तारै गैरी गाउँ पनि समयअनुसार विस्तार हुँदै जान थाल्यो ।

गाउँको क्षेत्रफल बढ्न थालेपछि गाउँको नाम प्रशान्ति ग्राम राखियो अनि सन् २००० देखि गैरी गाउँ ग्राम सुधार समितिको नाम पनि प्रशान्ति ग्राम सुधार समिति राखियो ।

प्रशान्ति ग्रामको देउसी–भैलोमा नेपाली संस्कृतिको झर्रापन झल्किएको छ । नेपाली पारम्परिक घरको अघि झर्रापनमा देउसी–भैलोको प्रस्तुति हेर्दा कुनै चलचित्रको दृश्य हेरेको जस्तो लाग्छ । प्रशान्ति ग्राम सुधार समितिको देउसी– भैलोको विशेष कार्यक्रम सोनादाको मिडिया हाउस कन्चनजङ्घा टाइम्ससित संयुक्त रूपमा आयोजना गरिएको थियो ।

प्रशान्ति ग्राम सुधार समितिले देउसी–भैलोको कार्यक्रम मात्र होइन गाउँमा विशेष कार्यक्रम पनि आयोजना गर्ने गरेको छ । आउँदो ३० अक्टोबरको दिन हुने विशेष कार्यक्रम आयोजना गरिने समितिका प्रचारप्रसार सचिव कमल लामाले बताएका छन् ।

कार्यक्रममा गाउँका सामाजिक कार्यमा सक्रिय रहने विशिष्ट व्यक्तिहरू, भूतपूर्व सैनिकहरू, मेधावी विद्यार्थीहरू र प्रतिभाशाली व्यक्तिहरूलाई अभिनन्दन जनाइने जानकारी उनले दिएका छन् । 

प्रतिक्रिया
सम्बन्धित