शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकाका नेपालीहरूले यसरी मनाए कुकुर तिहार

विजय थापा २०७९ कार्तिक ८ गते १५:१६

डीसी (अमेरिका), ८ कात्तिक । अमेरिकामा विभिन्न राज्य र शहरमा रहेका नेपाली समुदायले कुकुर तिहार पर्व मनाएका छन् ।

यस वर्ष लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकाले सोमबारका दिन अमेरिकामा अधिकांश नेपालीहरूको घर–घरमा सुरक्षाका लागि पालिएका कुकुरलाई मीठा–मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाएका छन् ।

अमेरिकामा १ घण्टादेखि ३ घण्टाको समय फरक हुने हुनाले सोही अनुसार कुकुर पूजा गरेका हुन् । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । अमेरिकामा अक्टोबर २४ का सोमबारका दिन लक्ष्मी पूजा र कुकर तिहार मनाइएको छ ।

अमेरिकामा नेपाल जस्तो खानेकुरा दिइँदैन । यहाँ स्वास्थ्यवद्र्धक र कुकरकै लागि बनाइएका अनेक प्रकारका खानेकुराहरू दिइएको छ । साथै नेपाली सेलरोटी र नेपाली परिकारका समेत भोजन कुकुरलाई खुवाइएको छ ।

कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ । कात्र्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा–मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरलाई आज्ञापालक एवम् रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ भने कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता समेत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित