२९ आश्विन २०८३, बिहिबार

३० असोजलाई सत्यमोहन जोशी दिवस मनाउन आह्वान (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ६ कात्तिक । अन्तर्राष्ट्रि नेपाली साहित्य समाज (अनेसास)ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा शोक सभा आयोजना गरेको छ ।

समाजको केन्द्र, च्याप्टर र बोर्ड परिषद्को सहभागितामा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरूले जोशीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

कार्यक्रमका विशेष वक्ता साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीसँगको सहयात्रा र जोशीको त्यागीपनाको चर्चा गर्दै शताब्दीपुरुषको उपाधिदेखि हुलाक टिकट प्रकाशनका बेलामा भएका गतिविधिको स्मरण गरे । अनेसासका पूर्वअध्यक्ष मोहन सिटौलाले जोशीसँगको यात्राको सम्झना गर्दै जोशीको स्वाभिमानी र स्वाभलम्वीपनाको चर्चा गरे ।

कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बीओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सदस्य तीर्थराज अधिकारी, सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार गोविन्द गिरी प्रेरणा, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलालगायतले शोक मन्तव्य व्यक्त गरे ।

कार्यक्रमका सभापति तथा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले जोशीसँगको सम्बन्धको स्मरण गर्दै वर्षदिनभित्र जोशीबारे लेखिएका संस्मरणहरूलाई छनोट गरेर जोशीको प्रथम वार्षिकीमा स्मारिका प्रकाशन गर्ने जानकारी पनि गराए । उनले अनेसासको आह्वानमा अन्तर्राष्ट्रिय रुममा असोज ३० लाई सत्यमोहन जोशी दिवसका रूपमा मनाउन पहल गर्ने पनि घोषणा गरे ।

अनेसासका एक मात्र विशिष्ठ सदस्य समेत रहेका जोशीको जीवनकालमै अनेसासले उनको नामको पुरस्कार समेत स्थापना गरेको छ । कार्यक्रममा विश्वभरका पाँच दर्जन साहित्यकारहरूको प्रत्यक्ष जुम सहभागिता रहेको थियो ।

तीनपटक मदन पुरस्कारद्वारा पुरस्कृत जोशीको गत असोज ३० मा १०३ वर्षको उमेरमा निधन भएको थियो ।