शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

दैनिक नेपाल २०७९ असोज ३० गते १४:२९

काठमाडौं, ३० असोज । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिबार काठमाडौंमा विशेष प्रस्तुती दिएकी छिन् ।

‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुती दिएकी हुन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले नेपालजस्ता मुलुकहरुले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाई हुनुपर्नेमा जोड दिइन् ।

नइमले व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै अवस्था सही हुनुपर्ने उल्लेख गर्दै भनिन्, ‘यो समस्यालाई मनोवैज्ञानिक रूपमा नहेरिने लगायतका कारणले व्यक्ति मानसिक समस्यामा पर्दै जाने क्रम बढेर गएको छ । शारीरिक समस्यालाई जसरी व्यक्तिको मानसिक समस्यालाई पनि ध्यानमा राख्न आवश्यक छ । राज्यस्तरबाटै यस्तो विषयमा पर्याप्त नीति बनाइन, सचेतना फैलाइन र समयमै समस्याको निदान हुनुपर्छ ।’

मानसिक समस्यालाई सामान्य रुपमा लिँदा पछिल्लो समय यसले विकराल रुप लिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले जनस्तरमा समेत यसको विषयमा पर्याप्त सचेतना फैलाइन आवश्यक रहेको बताइन् ।

उनले काठमाडौंमा रहेर सक्रिय मनोचिकित्सक तथा चिकित्सकहरुसँग समेत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा केन्द्रीत रहेर अन्तरक्रिया गरेकी थिइन् ।

कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जल्दोबल्दो विषयमा दुबईबाट नेपाल आएर महत्वपूर्ण समय र प्रस्तुती दिएको भन्दै डा. नइमको प्रशंसा गरेका थिए ।

उनले पछिल्लो समय मानसिक समस्यालाई सामान्य रुपमा लिँदा समाजमा डिप्रेसनको समस्या बढ्दै गएको र आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको भन्दै विद्यालय स्तरदेखि नै मनोविज्ञानको विषयमा पढाई हुनुपर्ने र नेपाल सरकारले समेत मानसिक समस्यालाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरु अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित