
काठमाडौं, २४ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता परिचयपत्रमा दोहोरो जन्ममिति उल्लेख भएको भेटिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको दुई वटा परिचयपत्रमा फरक–फरक मिति उल्लेख भएपछि उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीसँगै देउवाको उम्मेदवारी सङ्कटमा परेको छ ।
नागरिकता र मतदाता नामावली/परिचयपत्रमा जन्म मिति फरक रहेको भन्दै देउवाविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकाले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ ।
प्राप्त उजुरीमाथि आवश्यक छानविन तथा कानूनी उपचार खोजेर भोलि मंगलबारसम्म निर्णय दिइने डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।
देउवाले हिजो आइतबार आफ्नी पत्नी तथा कांग्रेस नेत्री आरजु देउवालाई वारेस बनाएर डडेलधुरामा उम्मेदवारी दर्ता गराएका थिए ।















प्रतिक्रिया