३ कार्तिक २०८३, मंगलबार

कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारले निर्वाचन लड्ने नैतिक अधिकार नराख्ने भन्दै गच्छदारको उम्मेदवारी खारेज माग गरेर काठमाडौं महानगर–७ का विवेक अधिकारीले आयोगमा उजुरी दिएका हुन् ।

गच्छदारले प्रतिनिधिसभा सदस्यका लागि हिजो सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका थिए । तर, भ्रष्टाचार आरोपमा गत संसद्मै निलम्बित गच्छदारसँग मंसिर ४ गते हुने निर्वाचन लड्ने नैतिक अधिकार नभएको भन्दै आयोगमा उजुरी परेको हो ।

गच्छदारविरुद्ध बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा उम्मेदवारी परेकाले छानबिन गरी उक्त उम्मेदवारी खारेज गर्न माग गरिएको उजरीकर्ता विवेक अधिकारीले बताए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले उनीसहित १७५ ‘हाइ–प्रोफाइल’विरुद्ध ०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि उनी सांसदबाट निलम्बित भएका थिए भने प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको थियो । डेढ वर्ष फरार भएपछि केपी ओलीको सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनी अदालतमा हाजिर भएका थिए । अख्तियारले ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले गच्छदारलाई १० लाख धरौटीमा छाडेको थियो ।

आयोगले उनको उम्मेदवारी कायम राखी निर्वाचन लड्न दिएर विजयी बने पनि उनी आगामी संसदमा भने जान पाउने छैनन् ।