बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

दैनिक नेपाल २०७९ असोज २३ गते १३:१३

लिस्बन, २३ असोज । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।

सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया
सम्बन्धित