
बाजुरा, १४ असोज । मन्दिर पसेको भन्दै दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै टेकेन्द्र सुनारमाथि कुटपिट गरी जातीय भेदभाव गरेको समेत आरोपमा वडाध्यक्ष जुद्ध अयडीलाई प्रहरीले पक्राउ गरेको हो ।
जातीय भेदभाव तथा छुवाछुत ऐन, २०६८ अन्तर्गत अयडीसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी बाजुरामा उजुरी परेको थियो । जातीय भेदभाव र कुटपिटको उजुरी परेपछि वडाध्यक्ष अयडीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । वडाध्यक्ष अयडीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनामा संलग्न रहेका तर फरार भएका स्थानीय रंगलाल पाध्याय र विनोद अयडीको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
बाजुराको बुढीगंगा नगरपालिका घर भई हाल कञ्चनपुर जिल्लामा बस्दै आएका टेकेन्द्र पूजाका क्रममा नाटेश्वरी मन्दिर पुगेका थिए । पूजाका लागि मन्दिर परिसरमा प्रवेश गरेका सुनारमाथि वडाध्यक्ष अयडीसहित तीनजनाले मन्दिर छोएको आरोपमा कुटपिट गरेका थिए ।
‘दलितले मन्दिर प्रवेश गर्न पाउँदैनन्’, ‘दलित भएर भगवान्को मन्दिर प्रवेश किन गरेको ?’ भन्दै कुटपिट गरेको पीडित सुनारले बताएका छन् । आँखा र मुखमा घाउ लागेर अनुहार नै सुन्निएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उजुरीका लागि चौतर्फी दबाब बढेको थियो। टेकेन्द्रले आफू कुटपिट र विभेद सहेर बसेको तर दलित अधिकारकर्मीको सहयोग मिलेपछि न्यायका लागि उजुरी दिएको बताएका छन् ।
मान्छे भएर पनि मान्छेको जस्तो व्यवहार नगर्ने राज्यका प्रतिनिधिलाई कानुनको पाठ पढाउन र मान्छेलाई सम्मान गर्नुपर्छ भन्ने थप सिकाइका लागि कानुनको शरणमा आएको सुनारको दुखेसो छ । जंगली व्यवहारसहित आफूमाथि आक्रमण गरिएको र दलितले मन्दिर छोए अनिष्ट हुने भन्दै विभेद गरेको आरोप सुनारको छ । वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि उजुरी नै परेपछि हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाका अनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् ।
जातीय विभेद गर्ने अयडीसहित तीनजनाविरुद्ध उजुरी प्रमाणित भए ५० हजारदेखि २ लाखसम्म जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै सार्वजनिक स्थलमा जातीय विभेद गरेको भन्दै वडाध्यक्ष अयडीको चौतर्फी विरोध भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया