
साना, १० असोज । यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ । प्राप्त समाचार अनुसार महासचिव एन्टोनियो गुटरेस र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीका बीचमा आइतबार कुराकानी भएको यमनी टेलिभिजनले जनाएको छ ।
उनिहरुका बीचमा यमनमा जारी रहेको गृहयुद्धको अन्त्यका लागि आवश्यक छलफल भएको र यसका लागि शान्ति प्रक्रियाको सुरुआत गर्नुपर्ने विषयमा सहमति भएको पनि बताइएको छ । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन गएका यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीले महासचिव गुटरेसलाई अमेरिकाको न्युुयोर्कमा भेट गरेका थिए ।
त्यस क्रममा यमनमा जारी हत्या हिंसालाई रोक्न यहाँको गृहयुद्धको अन्त्य गर्न शान्ति वार्ताको प्रक्रिया अविलम्ब थाल्नुपर्नेमा उनिहरुले जोड दिएका थिए । त्यस भेटका क्रममा यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसदले महासचिव गुटरेसलाई यमनको पछिल्लो अवस्थाका साथै यहाँ शान्ति स्थापनाका लागि जारी रहेको प्रयासका बारेमा जानकारी गराएका थिए ।
त्यसक्रममा यमनको गृहयुद्ध रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिकाका लागि अध्यक्ष रसदले महासचिव गुटरेसलाई विशेष धन्यवाद दिएका थिए । उता महासचिव गुटरेसले पनि यमनमा आवश्यक सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको भन्दै यमनको गृहयुद्ध रोक्न राष्ट्रसङ्घका तर्फबाट आवश्यक पर्ने सहयोग निरन्तर राख्ने पनि जानकारी दिएका थिए ।
राष्ट्रसङ्घको पहलमा यमनमा शान्ति स्थापनाका लागि यसअघि पनि धेरै पटक पहल भएका र वार्ता पनि भएका थिए । तर वार्ता सफल हुन भने सकेको छैन । सिन्ह्वा















प्रतिक्रिया