बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘विकासको जिम्मा म लिन्छु’

केपी शर्मा ओली २०७९ असोज १० गते १२:५९

आदरणीय धनुषा निवासी दाजुभाइ तथा दिदीबहिनीहरु, हार्दिक अभिवादन नमस्कार !

यस कार्यक्रमका अध्यक्ष महोदय, मञ्चमा आशिन रघुविर महासेठजी, प्रभु साहजी लगायतका विभिन्न जिल्लाबाट आउनुभएका पाहुना साथीहरु, महेश बस्नेतजी, लिला श्रेष्ठजी लगायत सम्पूर्ण साथीहरु, आज मात्रै नेकपा एमालेमा प्रवेश गर्नु भएका यस क्षेत्रका जनताका अत्यन्तै प्रिय नेता उमाशंकर अरगरियाज्यूलगायत सम्पूर्ण आज पार्टी प्रवेश गर्नु हुने आदरणीय साथीभाइहरु तथा दिदीबहिनी दाजुभाइहरु ।

केही दिन अगाडि, केही समय अगाडि मात्रै नेकपा एमालेमा प्रवेश गर्नुभएकी अमृता अग्रहरीजी, जो लामै समय गजेन्द्रनारायण सिहंको समयदेखि जसपाको कार्यकारिणीमा रहेर केही दिन अगाडिसम्म काम गरिरहनु भएको थियो । उहाँ अहिले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । केही दिन अगाडि उहाँ लगायतका साथीहरु र सम्पूर्ण जनप्रतिनिधिहरु एंव यहाँ उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरु !

सबैभन्दा म पहिले यस कार्यक्रममा नेकपा एमालेजस्तो सम्पूर्ण जनताको पार्टी, नेपाली जनताका समस्या समाधान गर्ने पार्टी नेपाली जनतालाई सबैभन्दा माया गर्ने र जनताका निम्ति विकासको अभियान सञ्चालन गर्ने पार्टी नेपका एमालेमा प्रवेश गर्नु हुने उमाशंकर अरगरियाजी लगायतका सम्पूर्ण नेता कार्यकर्ता साथीहरुलाई नेकपा एमालेमा हार्दिक स्वागत गर्दछु ।

कतिपय साथीहरुले अहिले यहाँ टिका लगाउन पाउनु भएको छैन, खादा लगाउन पाउनु भएको छैन । तरपनि मैले अघि सांकेतिक रुपमा पुष्पवृष्टि गरेर यहाँ मञ्चमा आएर प्रवेशको टिका लगाउन नपाउनु भएका साथीहरुलाई पुष्पवृष्टि मार्फत सबै साथीहरुलाई नेकपा एमालेमा प्रवेश गराएका छौं । आज यस ठाउँमा ४ हजारभन्दा बढी साथीहरु विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । आज हामी एउटा उत्सव पनि मनाइरहेका छौं ।

आज एउटा उत्सवको दिन हो । अंग्रेजीमा भन्दा पार्टी क्रस हण्डे«ड थाउजेन्ट प्लस । यसको अर्थ अरु पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या एक लाख नाघेको छ । अरु पार्टीहरु छोडेर एमालेमा एक लाखभन्दा बढी नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नु भएको छ । यो आंकणा गएको स्थानीय तहको निर्वाचनभन्दा पछाडिको हो । केही समयको आंकणा मात्रै हो प्रवेशको सन्दर्भमा ।

आज यहाँ यसरी पार्टी प्रवेशको कार्यँक्रममा ४ हजारभन्दा बढी साथीहरु प्रवेश गर्नु भएको छ । केही दिन अगाडि मात्रै म सिरहा गएको थिएँ । साढे सात हजारभन्दा बढी साथीहरु विभिन्नपार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । त्यसको केही दिन अगाडि मात्रै म धनुषा क्षेत्र नं ३ मा म पार्टी प्रवेश कार्यक्रममा गएको थिएँ ।

त्यहाँ लगभग १० हजार कार्यकर्ता नेताहरु विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । यो क्रमजारी छ । पार्टी प्रवेशका लागि म भोलि झापा जाँदैछु । हामीले एकातिर समानुपातिक उमेदवारको टुंगो लगाउनुपर्ने छ । त्यसै गरेर केही दिन भित्रै हामीले देशभरि लड्ने प्रत्यक्षतर्फका सूर्यध्वजावाहक उमेदवार तय गर्नु पर्नेछ ।

हामीले देशको विकास कसरी गर्ने ?जनताका समस्या कसरी सम्बोधन गर्ने ?राष्ट्रियतालाई कसरी रक्षा र सम्वद्र्धन गर्ने ? राष्ट्रिय हितहरुको रक्षा कसरी गर्ने ? विकासको अभियानलाई कसरी अगाडि बढाउने ? लोकतन्त्रलाई कसरी सुदृढ गर्ने ? देशमा शान्ति सुव्यवस्था अमन चयन कसरी कायम गर्ने ?समाजमा रहेका असमानता र विभेद हटाएर सामाजिक न्याय र समानतासहितको समाज कसरी बनाउने यस कुराका लागि घोषणा पत्र जारी गर्नु पर्नेछ । त्यस कामका लागि लागेका छौं । नेकपा एमाले हाम्रो पार्टी रहेछ भनेर चिनेर अहिले सबैभन्दा प्रवेशको लहर तराईमा आएको छ । योभन्दा अघिल्लो निर्वाचनमा नेकपा एमालेलाई तराईमा प्रवेश गर्न नदिने, प्रवेश गर्यो भने अनेक प्रकारका हिंसा हत्याका काण्ड मच्चाउन खोज्ने, उद्दण्डदा मच्याउन खाज्ने काम गरे ।

म सप्तरीमा आउँदा कार्यक्रम सकेर म हिँडेको ४५ मिनेट पछि गोलीकाण्ड भयो । राज्यले त्यो गोलीकाण्ड मच्यायो । २ जना मानिसको हत्या भयो, ७ जना मान्छे घाइते भए । राज्यको त्यो कालो कर्तुत, त्यो षडयन्त्र नेपाली जनताको रगतमा गैरजिम्मेवार ढंगले होली खेल्ने तरिकाले गरेपछि मैले तराई प्रवेशको कार्यक्रमलाई स्थगित गरेँ । मलाई नेपाली जनताको माया लाग्यो । भोट पाएर बहुमत आउला नआउला, जेसुकै होस् । नआए पनि नेपाली जनताको जीवनको रक्षा मैले गर्नु पर्छ भनेर म तराई आएँ । मैले तराईका लागि काम गरिराखेँ । आज तराईका जनताले आफैँले देख्नु भएको छ ।

म यस कार्यक्रममा आउँदा आधा बाटोसम्म वा यहाँ नजिकैसम्म रेल चढेर आएँ । रेलको लिक हामीले बनायौं, रेलवेय हामीले बनायौं । रेल हामीले किनेर ल्यायौं । रेल हामीले चलायौं र आज आफैँ हामीले बनाएको रेल चढेर आयौं । अंग्रेजका पालको रेलको कुरा हामीले सुनेका थियौं । तर अहिले आधुनिक रेल म आफैँ चढेर आएँ । वातावरण अनुकुूल, ध्वनीअनुकूल आधुनिक रेल यो हाइब्रिड ढंगले निर्माण गरिएको छ । डिजेलले स्टार्ट गर्छ र ब्याट्री चार्ज भएर विद्यतीय रेलमा परिणत भएको छ ।

हामी काम मात्रै गर्दै गयौँ । हामीले काम गर्यौं । जनताले काम देखे । त्यसकारण आज मेचीदेखि महाकालीसम्म सबैभन्दा बढी हजारौ होइन, दशौ हजारको संख्यामा एउटा कार्यक्रममा साथीहरु प्रवेश गरिरहनु भएको छ । आज यस कार्यक्रममा ४ हजारभन्दा बढी साथीहरु प्रवेश गर्नु भएको छ । यो कुनै ख्याल ठ्टटा होइन । ४ हजार कार्यकर्ता कुनै पार्टीले देख्यो भने आफूले जित्छु भन्ने ठान्छ । हाम्रो पार्टीमा एउटा निर्वाचन क्षेत्रमा आज ४ हजारभन्दा बढी साथीहरु नाम लेखेर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

रेल चढेर म आएँ । हुलाकी राजमार्गबाट हाम्रो गाडी रेल सँगसँगै आइराखेको थियो । अर्थात् हुलाकी राजमार्ग पनि बनेको छ । रेल पनि बनेको छ । यो नेकपा एमालेले बनायो । यो रेलको निर्माण कार्य, रेल खरीद गर्ने, सञ्चालन गर्ने कार्यमा योगदान गरेकोमा म रघुविर महासेठजीलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले म प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा उहाँले यी कामहरुमा तदारुपता देखाउनु भएको थियो र यी कामहरु गर्नु भएको थियो । म धन्यवाद भन्न चाहन्छु ।

हामीसँग एकसेएक विकासप्रेमी नेताहरु हुनुहुन्छ । यी नेताहरुको नेतृत्वमा तराई अगाडि बढ्ने छ । माथिबाट म तपाईहरुलाई भन्न चाहन्छु,– तराईको विकास अरुले गर्दैनन्, नेकपा एमालेले गर्छ । तराईको विकासको जिम्मा म लिन्छु । यहाँका सुकुम्वासी समस्याको समाधान मैले भन्ने गरेको छु, सुकुम्वासी समस्याको समाधान हामी ग्यारेन्टीको कुरा गर्छौ । सुकुम्वासी समस्याको समाधान हामी ग्यारेन्टीका साथ गर्छौ, कुरा मात्रै होइन । हामीले यसपल्टसरकार छोडिहाल्न पर्यो । हामीलाई अनेक प्रकारका गठबन्धनहरु बनाएर परमादेशबाट सरकारबाट हटाइयो । हामीले ११ लाख कृषिमा आधारित, भूमिमा आधारित ११ लाख पीडितहरु सम्बन्धित छन्, सरोकारवालाहरु छन् । ११ लाख पहिचान गरेर उहाँहरुका समस्या समाधान गर्ने तयारी गरिसकेपछि हामी सरकारबाट हट्नु पर्यो । हामीले ती समस्याहरुको समाधान गर्न पाएनौं । म तपाईंहरुलाई भन्न चाहन्छु, सरकार बनेपछि आउँदो पाँच वर्षभित्रमा नेपालबाट सुकुम्बासी समस्याको समाधान हामी गर्नेछौं ।

नेपालबाट सुकुम्वासी समस्या सधैका लागि विदा हुनेछ, सुकुम्वासी समस्या रहने छैन । हामीले घरविहीनहरुलाई घर निर्माण गरेर वितरण गर्ने अभियान अगाडि बढाएका छौ । रकमको खाँचो हुने छैन । हामीले गरिबहरुका लागि एकीकृत वस्ती, आधुनिक किचन बाथरुमसहितका सुविधासम्पन्न घर, आधुनिक घर, छाप्रा बनाएर दिने होइन । आधुनिक पक्की घर बनाएर जनतालाई बुझाउने हो । पीडित र पिछडिएका जनतालाई त्यो नीति लिएका छौं र त्यस अनुसार हामी त्यस काममा अगाडि बढिरहेका छौं ।

दुर्भाग्यको कुरा के छ भने हामीले कतिपय ठाउँमा स्थानीय पालिकाहरु जित्न सकेनौं । स्थानीय पालिकामार्फत हामीले ती काम गराउनु पर्दछ । स्थानीय पालिकामा हाम्रो विचार अनुसारका जनप्रतिनिधिहरु नहुनाले हामीलाई कतिपय अप्ठ्यारो परेको छ । तर म यस पालिकाका भाग्यमानि दाजुभाइ दिदीबहिनीहरुलाई भन्न चाहन्छु–यस पालिकामा हाम्रा मेयर उपमेयर र बहुसंख्यकले जित्नुभएको छ । यहाँ काम गर्न सजिलो छ र यहाँको विकासलाई हामी तीव्रताका साथ अगाडि बढाउँछौं ।

हामीले नजितेका ठाउँमा काम हुँदैन भन्ने होइन । हामी काम गराएरै छोड्ने छौं जुनसुकै पार्टीका प्रतिनिधि भएपनि । हामी स्थानीय तहमा काम गराउने छौ । तीमार्फत आवासका काम, बसोवासका काम, जनताका खानेपानीका समस्या र अरु समस्याहरु, रोजगारीका समस्या, कृषिको आधुनिकीकरणको समस्याहरु हामी समाधान गर्नेछौं । अघि उमाशंकर अरगरियाजीले पनि राखिसक्नु भएको छ । एउटा ठूलो भ्रमको स्थिति,ठूलो भ्रमको प्रचारको अवस्था तराईमा देखिएको छ ।

म अस्ति धुनषा क्षेत्र नं ३ मा आएँ । २÷४ जना केटाकेटीलाई केहीले उचालेका रहेछन् विरोध गर्न भनेर । अब उनीहरुको हालत २÷४ जनाले लुकेर विरोध गर्नु पर्ने स्थितिमा पुगेको छ । हिजो बेलुका केहीले यसो पुल्ठो बालेर केहीले जुलुस निकाले केही ठाउँमा । यो् दरिद्रता हो । हामी कसैको कार्यक्रममा कुनै विरोध गर्दैनौं । कसैको कार्यक्रममा कुनै बाधा दिँदैनौं । हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छौ, प्रकृयामा विश्वास गर्छौ । जसले जहाँ पनि कार्यक्रम गरुन्, आफ्ना विचारहरु राखुन् । देशको पक्षमा, जनताको पक्षमा विचारहरु राखुन् । आफ्ना नीतिहरु छन् भने राखुन् । कार्यक्रम छ भने राखुन् । हाम्रो तर्फबाट कुनै विरोध हुँदैन,असहयोग हुँदैन तर कमजोर तत्वहरु डराउँछन्, तर्सित हुन्छन् र जनतामा भ्रम छर्न खोज्छन् ।

नागरिकताका समस्या समाधान गर्नका लागि म प्रधानमन्त्री हुने बित्तिकै ऐन प्रस्तुत गरेको हुँ । अर्को पार्टीको सभापति त्यहाँ थियो । त्यो सभापतिले रोकेर ऐन अगाडि बढ्नै दिएन । समितिबाट ऐन अगाडि बढेन । अनेक पटक मैले वार्ता गर्न कोसिस गरेँ तर अगाडि बढेन । पछि संसद नभएका बेला संविधानले अध्यादेश ल्याएर कानून बनाएर अध्यादेश मार्फत जनताका समस्या समाधान गर भनेर संविधानले भन्छ । त्यसै अनुसार मैले अध्यादेश ल्याएर नागरिकतासम्बन्धी विधेयक कानून अध्यादेशमार्फत जारी गराएर जन्मसिद्ध नागरिकका छोराछोरीहरु जो तराईमा ठूलो संख्यामा छन् । ५÷६ लाखको संख्यामा अहिले नागरिकता पाउनु पर्ने अवस्था छ । उनीहरुले नागरिकता पाइराखेका छैनन् । त्यसकारण जन्मसिद्ध नागरिकका सन्तान हुन् उनीहरु ।

तसर्थ उनीहरुले नागरिकता पाउनु पर्छ । संविधानले कानून बनाएर जन्मसिद्धका सन्तानलाई नागरिकता देउ भनेको हुनाले कानून चाहियो । कानून ल्याउन उनीहरुले नदिने । त्यसपछि अध्यादेश ल्याएर जन्मसिद्ध नागरिकका ५÷६ हजार सन्तानले नागरिकता पाए । त्यसपछि यही गठबन्धनका नेताहरुले मद्दा हालेर सर्वोच्च अदालतबाट त्यो ऐन रोकाए र नागरिकताको प्रमाण पत्र दिने काम रोकियो । यिनै गठबन्धनका नेताहरु हुन् । म तपाईंहरुलाई सम्झाउन चाहन्छु, तपाईंहरुले पनि सुन्नुभएको थियो होला ।

नागरिकताको प्रमाण पत्र वितरण गर्नका लागि नागरिकका सन्तानलाई नागरिकता दिनका लागि अध्यादेश आएको थियो, कानून ल्याएको थियो र नागरिकताको प्रमाण पत्र वितरण सुरु गरेको थियो । नागरिकता दिन सुरु गरेको थियो तर यिनै नेताहरुले मुद्दा हाले । अदालतले फेरि अध्यादेशबाट ऐन ल्याउन पाइन्छ तर हामीले ल्याउँदा सम्मानीत सर्वोच्च अदालतले संसद छलेको भन्ने कुरा गर्यो ।

संसद छलेको भन्ने नचाहिने कुरा गर्यो । संसद नभएका बेला ल्याउँदा कसरी छलिन्छ ? तर हाम्रो पार्टी फुटाउनका लागि अध्यादेश राती १२ बजेसम्म संसद चलेर १२ बजे रोकेर बिहान हाम्रो पार्टी फुटाउने अध्यादेश ल्याउँदा छलेको भएन । हाम्रो पार्टी फुटाउदा नियम कानून चाहिएन । हामीलाई सरकारबाट हटाउँदा संविधानको धारा चाहिएन । गठबन्धनको सरकार बनाउँदा, परमादेश जारी गर्दा कुनै संविधानको धारा चाहिएन । तर नेपाली जनताका, नागरिकका छोराछोरीलाई नागरिकता दिन्छुभन्दा संविधानका धारामा भएको कुरा पनि हुन नदिएर रोके । म दुःख व्यक्त गर्न चाहन्छु ।

म तपाईंहरुलाई भन्न चाहन्छु, हामीले भन्यौं अहिले अनावश्यक कुराहरु नल्याउ । नागरिकता नयाँ ऐन चाहिएको छैन । संशोधन गरौं, नागरिकताको प्रमाणपत्र दिऔं । अथवा हामीले हिजो ल्याएको त्यही ऐन अहिले ल्याऔं र नागरिकताको प्रमाण पत्र जनतालाई दिऔं, जन्मसिद्धका छोराछोरीलाई दिऔं भन्यौं । तर, यस विषयमा उनीहरु संवाद गर्न तयार नहुने, छलफल गर्न तयार नहुने, राष्ट्रपतिसमक्ष संविधानको धारा ८१ अनुसार कुनै विधेयक ल्याउनुअगाडि राष्ट्रपतिलाई देखाउनु पर्छ, राष्ट्रपतिलाई बताउनु पर्छ ।

त्यो कुरा अस्वीकार गरेर, बलजफ्ती गरेर, यिनीहरुले नचाहिने कुराहरु सामेल गरेर कानून ल्याए, विधेयक ल्याए । त्यो भएपछि सम्माननीय राष्ट्रपतिज्यूले १५ वटा बुँदा लेखेर सरकारलाई सुझाव दिनु भयो फेरि एकपटक विचार गर भनेर । सरकारले अहंकार देखायो । राष्ट्रपतिको अपमान गर्यो । तथानाम बोल्यो । राष्ट्रपतिले भनेको सुन्दैनौं भन्यो ।

संसदभित्र छलफल आउन नदिएर, संसदभित्र छलफल नगरेर बाहिरतिरै अनेक प्रकारका धम्कीका भाषाहरु बोल्यो र केही पनि सच्याउन पर्ने भएन, राष्ट्रपतिको आग्रहलाई सुन्न तयार भएन र अहंकार मात्रै देखायो । मैले अस्ति जनकपुरमा पनि भनेँ, यहीँ ३ नं क्षेत्रमा पनि भनेँ, संसद थियो । त्यतिबेला पनि मैले भनेँ–अझै समय छ, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नेछ भन्ने यत्ति लेखेर ल्याउनुस् । यत्ति लेखेर ल्याए पुग्छ, हामी उसै दिन तत्काल पारित गर्छौ त्यो ऐन ।

नागरिकता दिऔं भन्यौं । तर यो सरकार, यो गठबन्धन, यसका नेताहरु सुन्न तयार भएनन् । एमालेका विरुद्ध भ्रम फैलाउने मौका यही हो, यही मौकामा लगेर तराईका जनता भडकाउनु पर्छ भनेर उनीहरु कानून बनाउने होइन, भ्रम फिजाउने खेतीतिर यिनीहरु कुदे । म तपाईंहरुलाई भन्न चाहन्छु, मैले अस्ति पनि भनेको छु–सरकार बनेको एक महिनाभित्र मंसीर ४ गतेको निर्वाचन पछि एमालेको सरकार बन्नेछ ।

तपाईंहरुलाई के लाग्छ, बन्छ होइन ? (जनता बन्छ, बन्छ) । नेकपा एमालेको सरकार बन्नेछ र सरकार बनेको एक महिनाभित्र नागरिकताको समस्या बाँकी कहिल्यै पनि नउठ्नेगरी समाधान गरिनेछ । तुरुन्तातुरुन्तै हामी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउँछौं । यहाँनिर नेपाली नागरिकलाई नागरिकता दिउ भन्ने हामी । नेकपा एमाले नेपाली जनतालाई नागरिकता दिउ भन्छ । गठबन्धन गैर नेपालीलाई नागरिकता तत्कालका तत्काल दिनुपर्छ भन्छ । मतभेद यहाँनिर हो । गैर नेपालीलाई नागरिकता दिनुभन्दा अगाडि हेर्नु पर्छ उ साँच्चै नागरिकता लिन योग्य छ कि छैन, नागरिकता दिन मिल्छ कि मिल्दैन त्यो भनेर त्यो कुरा हेर्नु पर्छ । तर नागरिक भइसकेका व्यक्तिका सन्तानले नागरिकता पाउनै पर्छ । त्यसको व्यवस्था एमालेले गर्छ ।

नेकपा एमालेले हुलाकी राजमार्ग होस् कि रेल होस् कि जनकपुरमा चक्रपथ होस् कि ढलको काम होस् कि ढल्केवरबाट जनकपुर चल्न बाटो होस् कि अथवा तराईको सिंचाइका लागि एक लाख ८५ हजार विघामा सिंचाइ गर्नका लागि सुनकोशी मरिन ड्राइभर्सन होस् कि हुलाकी राजमार्गको आसपास गरेर १३ वटा स्मार्ट सिटी, नयाँ शहर बनाउने कुरा होस् कि आधुनिकीकरण गर्ने कुरा होस्, सघन शहरी विकास कार्यक्रम होस् यस्ता कार्यक्रममार्फत शहरलाई कसरी आधुनिक बनाउने, कसरी विकास गर्ने यी कुराहरुको सन्दर्भमा, कृषिको आधुनिकीकरणको सन्दर्भमा सुपर जोन, जोन यस्ता अनेक योजनाहरु मार्फत, यस्ता कामहरु मार्फत कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण यी चिजहरुमा हामीले अभियान अगाडि बढाएका छौं ।

जनतालाई सुविधा दिनका लागि अनेक प्रकारका योजनाहरु हामीले बालबालिकालाई पाठ्यापुस्तक निशुल्क उपलब्ध गराउने कुरा हामीले गरेका हौं । ती सुविधा शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा हामीले बढाउने छौं । शिक्षा समाज विकास निर्माण गर्ने पूर्वाधार हो ।

त्यसकारण यी चिजहरुलाई अगाडि बढाउनका लागि नेकपा एमाले प्रतिबद्ध छ । तपाईंहरुले मैले बोलेका कुराहरु, हाम्रो पार्टीका नीति, हाम्रो पार्टीका विभिन्न नेताहरुले विभिन्न ठाउँमा बोलेका कुराहरु तपाईंहरुले आजकाल सञ्चार माध्यमबाट सुन्नु भएको छ । त्यसकारण तपाईंहरुमा कुनै अलमल छ भन्ने मलाई लाग्दैन । हामी सिंगै देशको विकास तराईको मात्रै होइन । मेचीदेखि महाकालीसम्म, मधेसदेखि हिमालसम्मका सबै ठाउँका जनता नेपाली जनता हुन् ।

हाम्रो बीचमा विविधता छ । भौगोलिक, जैविक, वनस्पतीय, सामाजिक, धार्मिक, साँस्कृतिक, अनेक प्रकारका भेषभुषा लगायतका विविधता छन् । तर ती विविधता हाम्रा समृद्धि हुन्, सम्पन्ता हुन्, वैभव हो, हाम्रो साँस्कृतिक श्रेष्ठता हो । हाम्रो साँस्कृतिक सम्पन्ता हो । त्यसलाई कतिपय स्वार्थी तत्तवहरुले क्षेत्रीयतावादको नारा दिएर, जातियतावादको नारा दिएर, धर्मका नारा दिएर, भाषाका नारा दिएर हामीलाई फुटाउने र नेपाललाई बर्बाद पार्ने षडयन्त्र गरे । जुन षडयन्त्रबाट तपाईंहरु मुक्त भएर त्यस्ता तत्वहरुलाई पराजित गरेर राष्ट्रिय एकताका साथ सामाजिक न्याय र सद्भावमा आधारित विकासमुखी, विकासको एकताको राष्ट्रिय आकांक्षा कायम गरेर अगाडि बढ्नु भएको छ । त्यसका लागि म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु ।

नेपाली जनताको सचेतनतालाई सलाम भन्न चाहन्छु । हाम्रा युवाहरुलाई भड्काउन खोजिएको छ । विभिन्न प्रकारका भावानात्मक कुराहरु गरेर अलमल्याउन खोजिएको छ । तर म हाम्रा युवाहरुलाई धन्यवाद भन्न चाहन्छु । त्यस्ता कुनै पनि कुराहरुमा नअल्झिएर सही बाटोमा, देशभक्तिको बाटोमा, राष्ट्रिय एकताको बाटोमा, शान्तिको बाटोमा, लोकतन्त्रको बाटोमा, विकासको बाटोमा अगाडि बढ्नु भएको छ, त्यस पक्षमा युवाहरु अगाडि बढ्नु भएको छ । म युवाहरुलाई धन्यवाद भन्न चाहन्छु ।

यसपल्ट पहिलो चोटी मतदान गर्न लागेका युवाहरुलाई म भन्न चाहन्छु, तपाईंहरुको मतदान गलत ठाउँमा हुनु हुँदैन । देशको पक्षमा हुनुपर्दछ, जनताको पक्षमा हुनुपर्दछ, लोकतन्त्रको पक्षमा हुनुपर्दछ । तपाईंहरुको मतदान गलत ठाउँमा हुनु हुँदैन । तपाईंहरुको मतदानले राष्ट्रिय हित हार्नु हुँदैन, देश हार्नु हुँदैन, लोकतन्त्र हार्नु हुँदैन, जनता हार्नु हुँदैन । तपाईंहरुको मतले देशले जित्नु पर्दछ, जनताले जित्नु पर्दछ, लोकतन्त्रले जित्नु पर्दछ । त्यसकारण सचेत रहन म आग्रह गर्न चाहन्छु ।

हाम्रा दिदीबहिनीहरुलाई म धन्यवाद भन्न चाहन्छु ।

आज एमाले जुन ठाउँमा छ, सम्पूर्ण नेपाली दिदीबहिनीहरु अत्यन्तै उत्साहका साथ यस ठाउँमा नेकपा एमालेलाई ल्याइपुर्याउन लाग्नु भएको छ । यस ठाउँमा ३०÷३२ वर्षसम्म सद्भावनादेखि जसपासम्म काम गरेकी नेतृ अमृता अग्रहरी आज उहाँले हाम्रै अगाडि आफ्नो मन्तव्य दिनुभएको छ । लामो समयदेखि अरु पार्टीहरुमा रहेर काम गरेका अग्रहरी, उमाशंकर अरग्रहरी यस क्षेत्रका जनताको अत्यन्तै लोकप्रिय नेता हुनुहुन्छ, प्रतिनिधि हुनुहुन्छ तपाईंहरुको अगाडि बोल्नु भएको छ ।

उहाँहरु सबैलाई म स्वागत भन्न चाहन्छु । उहाँहरुले ठीक बुझ्नु भएको छ । नेपाली जनताको यो चेतनालाई म सलाम भन्न चाहन्छु । यस अभियानलाई हामीले विजयको अभियान र यो उत्सवमय, उल्लासमय अभियानलाई अगाडि बढाएर मंसीर ४ गते देशलाई सूर्यमय, शान्तिमय, विकासमय, लोकतान्त्रिक देश समय आएको छ । मंसीर ४ लाई हामीले एउटा अवसरको रुपमा प्रयोग गर्नु पर्दछ ।

यो राष्ट्र निर्माणको अवसर हो । देशको अद्योगति रोक्ने अवसर हो । देशलाई अगाडि बढाउने अवसर हो । देशका विरुद्ध षडयन्त्र गर्नेलाई पराजित गर्ने अवसर हो । षडयन्त्र विरुद्धको हाम्रो यात्रालाई र अभियानलाई सफल पार्ने अवसर हो । यसलाई त्यस अवसरको रुपमा लिनु पर्दछ । त्यो अवसर प्राप्त गर्ने दिनसम्म हामी उत्सवको रुपमा लिनेछौं, उत्सवको रुपमा नेकपा एमाले अगाडि बढ्ने छ ।

यो सम्पूर्ण नेपाली जनताको हितका लागि सेना होस्, प्रहरी होस्, कर्मचारी होस्, बुद्धिजीवी, व्यापारी समूह होस् अथवा अरु व्यवसायमा लागेका किसान मजदुर होउन अथवा किसान व्यवसायी होउन् । सबैका निम्ति, सबैको हितका निम्ति काम गर्ने नेकपा एमाले हो । सिपाहीको दर्जा थिएन । दर्जाहिनबाट सेना, प्रहरी, सशस्त्र प्रहरीका दर्जाविहीन अवस्थाबाट दर्जामा उठाउने काम २०५१ सालमा नेकपा एमालेले गरेको थियो । यस देशमा ज्येष्ठ नागरिकलाई सम्झिने अर्को पार्टी छैन । नेकपा एमालेले सम्झिन्छ । सडकमा बालबालिका रहन नदिने, बालबालिकाको बन्दोवस्त गर्ने हामी अभिभावक छौं ।

सरकार अभिभावक छ भनेर हामीले अभियान सुरु गर्यौँ । हामीले बालबालिकाको बन्दोवस्त गर्ने अभियान सुरु गर्यौं । बालबालिका सम्झने, ज्येष्ठ नागरिक सम्झिने, अपाङ्गता भएका सम्झिने, वेसाहार व्यक्तिहरु सम्झिने नेकपा एमालेले हो । त्यसकारण म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्न चाहन्छु, आज प्रवेश गर्ने साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरु आत्मविश्वासका साथ एमालेको झण्डा उठाएर, देशको झण्डा उठाएर, सूर्य चिन्हको झण्डा उठाएर, हसिया हथौडाको झण्डा उठाएर आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।

म सरकारलाई भन्न चाहन्छु, निर्वाचनका लागि हरेक ठाउँमा धाँधलीको तयारी गरिराखेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने लाग्यो भने प्रहरी सरुवा गर्छ । यहीँ ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ, कर्मचारीको सरुवा गरेको छ । गठबन्धनको चाकरी गर्दैन, कानून बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गर्ने कस्तो सरकार हो ? यो सरकार अलोकतान्त्रिक, स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारी सरकार हो ।

त्यसकारण यस्तो सरकारलाई यसका कुकर्महरुलाई रोकेर यसलाई पराजित गर्ने हाम्रो कर्तव्य हो । हामीले त्यो कर्तव्य लोकतन्त्रका लागि, देशलाई लोकतन्त्रमा अगाडि बढाउनका लागि हामीले अगाडि बढाउनु पर्दछ । यसका निम्ति आग्रह गर्दै सरकारको धाँधलीका रचनाको तयारी नगर्न सुझाव दिँदै र चेतावनीको भाषामा म भन्न चाहन्छु, यस देशलाई खुनखरानामा लान, हिंसामा लान, अलोकतान्त्रिक र तानाशाही बाटोमा लाने दुषचेष्टा गठबन्धनले नगरोस् । म चेतावनी भन्न चाहन्छु । नेकपा एमाले पनि यस देशमा छ ।

जसो पायो त्यसो गर्न दिँदैन भन्ने कुरा म उनीहरुलाई खबरदारी भन्न चाहन्छु । दुषचेष्टा गर्यो भने नेकपा एमाले ज्यँुदो पार्टी हो भन्ने कुरा पनि म उनीहरुलाई भन्न चाहन्छु । एमाले ज्युँदो पार्टी हो । म फेरि एकपटक तपाईंहरु सबैलाई नेकपा एमालेमा हार्दिक स्वागत गर्न चाहन्छु । यो अवसर जुटाउने नेकपा एमालेका नेता कार्यकर्ताहरु सबैलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु । साथीहरुलाई आफ्ना कामले, आफ्ना विचारले साथीहरुलाई आकर्षित गर्ने काम जुन साथीहरुले गर्नु भएको छ, त्यसका निम्ति म नेकपा एमालेका कार्यकर्ताहरुलाई धन्यवाद भन्न चाहन्छु । नेकपा एमालेलाई विश्वास गरेर प्रवेश गर्नु हुने साथीहरु अलपत्र पर्नु हुने छैन ।

नेकपा एमालेले तपाईंहरुलाई राम्रो स्पेश दिएर, तपाईंहरुलाई कामका अवसर दिएर, तपाईंहरुलाई अगाडि बढ्ने अवसर दिएर मौका दिएर काम लगाउँछ । एकैचोटी तत्काल नहोला, क्रमश होला । तर नेकपा एमालेले तपाईंहरुलाई अवसर दिलाएर, अवसर दिएर नै अगाडि बढाउने छ । तपाईंहरुलाई कुनै पछुतो हुने छैन । तपाईंहरुलाई गलत काममा एमालेले प्रयोग गर्ने छैन । अलोकतान्त्रिक देश विरुद्धको, जन विरुद्धको, विकास विरुद्धका काममा नेकपा एमालेले तपाईंहरुलाई प्रयोग गर्ने छैन । नेकपा एमाले यस्तो पार्टी हो । त्यसकारण म तपाईंहरुलाई आज यिनै कुराहरु गर्न चाहन्छु । ढुक्क भएर अगाडि बढ्नुस् भन्ने आग्रह गर्न चाहन्छु ।

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ असोज २०७९ मा धनुषामा आयोजित विशाल पार्टी प्रवेश कार्यक्रमलाई गरेको सम्बोधनको पूर्णपाठ)

प्रतिक्रिया
सम्बन्धित