बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कलिउड नाइटमा मुन्द्रेसहित अमेरिकामा जन्मेका बालबालिकाको बेजोड प्रस्तुति (फोटोफिचर)

विजय थापा २०७९ असोज ९ गते २२:२१

अमेरिका, ९ असोज । गत सेप्टेम्बर २४ शनिबारका दिन केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिउड नाइट २०२२ कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरेको छ ।

खचाखच भीड रहेको कार्यक्रममा विशेष आकर्षणमध्येकै एक नेपालका चर्चित हास्य कलाकर जितु नेपाल (मुन्द्रे)सहित अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति बेजोड रहन गयो । कार्यक्रममा मुन्द्रेले ४ वटा प्रस्तुति गरेका थिए भने उनको प्रस्तुतिलाई दर्शकहरुले औधि मन पराए ।

दर्शकहरुले भरपुर मनोरञ्जन गरे भने समयमा सुरु भएकोमा दर्शकहरुले मुक्त कण्ठले केसी डान्स सेन्टरको प्रशंसा गरेका छन् । एक मिनेट पनि ढिलो नगरी समय मै समाप्त हुनु भनेको नेपाली समुदायमा असम्भव र दुर्लभ हुन्छ । कहिले ठिक समयमा आयोजना गर्न सक्दैनन् र हुने नसक्ने उदाहरण कलिउड नाइट २०२२ ले सबैलाई चकित बनाइदिएको छ ।

कलिवुड नाइट २०२२ कार्यकमले अमेरिकामा रहेका नेपाली समुदाय र सम्पूर्ण आयोजकहरुलाई पाठ सिकाएको छ । कार्यक्रम यसरी गर्नु पर्छ र दर्शक समयमा नआएमा कसरी ४ वटै प्रस्तुति पैसा तिरेर पनि हेर्न नपाएका दर्शकहरु पछुताएका छन् भने उनीहरु सचेत भएका छन् ।

कुनै पनि सांस्कृतिक तथा कलाकारहरुको कार्यक्रम ठीक समयमा कहिले नहुने र दर्शकहरु पनि ढिलो पुग्ने भएकाले प्रारम्भका उत्कृष्ट प्रस्तुतिबाट चुकेका छन् ।

पाँच दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आएका बालबालिकाहरुले करिब ६ महिना अगाडि देखि अहोरात्र पूर्व अभ्यास गरेर आत्म विश्वास साथ गरेको प्रस्तुतिको जति नै गरे पनि प्रशंसा कमै रहन्छ ।

किशोरीहरुले नेपाली गीतहरुमा प्रस्तुत नृत्यहरुको कुनै व्यवसायिक नृत्य गर्ने नृत्यांगना कलाकार भन्दा कुनै फितलो थिएन । हरेक प्रस्तुति उत्तिकै बेजोड प्रस्तुति रहन पुगेको थियो । दर्शकहरु अढाई घण्टा एक टक र दोस्रो पुस्ताको प्रस्तुतिको चर्चा गर्दै एक पछि अर्को कार्यक्रम हेर्दा अद्वितीय रहेकाले केही दर्शक भावुक पनि भएका थिए ।

दर्शकहरुले बेजोड प्रस्तुति हेर्दै कर्तल ध्वनीले सम्मान गरेका थिए । कार्यक्रम वरिष्ठ लोकगायक प्रेमराजा महत, लोक गायिका शान्ति भण्डारी, न्यूयोर्कका संजोक योञ्जन, नायक राहुल केसी, सबिना बज्राचार्य, लुना श्रेष्ठ, नवीन केसी, सारङ्गा श्रेष्ठ लगायतको नृत्यसहितको गीत प्रस्तुति अद्वितीय रहेको थियो ।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको शुभारम्भमा दशैँको दुर्गा अम्बे स्तुति सामूहिक प्रस्तुति सर्वोत्कृष्ट रहेको थियो ।

यस पटक सबै जातजातिलाई समेट्दै हिमाल ,पहाड र तराईका बिभिन्न जातजातिका बिशेष गीतहरुमा अमेरिकामा जन्मेका र केसी डान्स सेन्टरमै सिक्दै गरेका किशोरीहरुको प्रस्तुति बेजोड रहेको थियो ।

यस पटक पनि कार्यक्रमको अन्त्यमा दशैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि अत्यन्तै उत्कृष्ट रहेको थियो ।

कार्यक्रम सञ्चालन परसु तिमिल्सिना तथा दोस्रो पुस्ताकी जेनिशा चुडाल लगायत साना बालिकाहरुले कार्यक्रम सञ्चालन गरेका थिए ।

ई–नेप्लिजले कलिवुड नाइट २०२२ सकिए पछि दर्शकहरुसंग गरिएको प्रतिक्रियामा सबैले ठिक समयमा सुरु भएको, अद्वितीय, मनोरन्जनात्मक, स्तरीय, बेजोड प्रस्तुति रहेको बताएका थिए र उनीहरुले अर्को साल पनि कार्यक्रम नछोड्ने प्रतिबद्धता गरेका थिए । 

प्रतिक्रिया
सम्बन्धित