शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

२४ करोडका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र

दैनिक नेपाल २०७९ असोज ९ गते ७:०६

काठमाडौं, ९ असोज । गाडीको रङ फुंग उडेको छ । टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन् । कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन् । ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन् । एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन् ।

बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो । बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याइएका ती चार भ्यान भने चार वर्षदेखि थन्किएका छन् । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान सरकारी निकायको उदासीनताका कारण प्रयोगविहीन अवस्थामा छन् । खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन् । भ्यान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित पाँच कर्मचारी, बिक्रेता र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सात कर्मचारीसहित एक दर्जन बढीलाई भ्रष्टाचारको मुद्दा लागेको थियो । मुद्दा दायर भएपछि ती भ्यान चलाउन कसैले चासो दिएका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित