बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन ल्याइएको अध्यादेश बदर गराउने यही गठबन्धन हो’

संविधानतः कोही पनि नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन मिल्दैन : ओली

दैनिक नेपाल २०७९ असोज ६ गते १४:४७

काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन खोज्दा अहिले गठबन्धनमा रहेका दल र तिनका नेताहरूले नै रोकेको खुलासा गरेका छन् ।

तत्कालीन समयमा आफूले ल्याएको अध्यादेशविरुद्ध अदालत गएर बदर गराउने दल र तिनका नेताहरू नै अहिले एमालेले विधेयक रोक्यो भनेर हल्ला गर्न थालेको उनले बताएका छन् ।

‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिउँ भनेर अध्यादेश ल्याउँदा त्यस अध्यादेशविरुद्ध अदालत गएर त्यसलाई बदर गराउने यही गठबन्धन हो, यसैले बदर गराएको हो । अनि अहिले फेरि मधेशतिर एमालेले नागरिकता विधेयकलाई यस्तो गर्यो उस्तो गर्यो भन्दैछन्,’ गठबन्धनका दलहरूलाई प्रश्न गर्दै ओलीले आज भने, ‘अनि त्यही कानून तीन–चार वर्षसम्म रोकेर राख्ने तपाइँहरू होइन ? अध्यादेशबाट ल्याएको कानून मुद्दा हालेर रोक्ने तपाइँहरू होइन ?’

नागरिकता विधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसँग परामर्श नगरेको उनको भनाइ छ ।

ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै विदेशीहरूलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । उनले संविधान अनुसार कोही पनि नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन नमिल्ने उनको भनाइ छ ।

पढ्नुहोस् ओलीको भनाइ जस्ताको त्यस्तै–

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिउँ भनेर अध्यादेश ल्याउँदा त्यस अध्यादेशविरुद्ध अदालत गएर त्यसलाई बदर गराउने यही गठबन्धन हो । यसैले बदर गराएको हो । अनि अहिले फेरि मधेशतिर एमालेले नागरिकता विधेयकलाई यस्तो गर्यो उस्तो गर्यो… । अनि तीन–चार–पाँच वर्षसम्म रोकेर राख्ने तपाइँहरू होइन ? अध्यादेशबाट ल्याएको कानून मुद्दा हालेर रोक्ने तपाइँहरू होइन ?

अहिले कतै सर–सल्लाह नगरी नचाहिने बुँदाहरू त्यसभित्र घुसाएर मान्न नसकिने स्थिति बनाउने तपाइँहरू होइन ? छलफल पनि गर्न तयार नहुने, कुरा गर्न तयार नहुने बलमिच्याइँ गरेर जबरजस्ती देशहितका विरुद्ध कदम चाल्ने तपाइँहरू होइन ?

तसर्थ नेकपा एमालेको तर्फबाट मैले संसदीय दलको नेता तथा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा केही दिनअगाडि नै संसदको आयु छँदाछँदै भनेँ, अहिले पनि आयु छ संसदको ‘जन्मसिद्ध नागरिकका सन्तानले बंशजका आधारमा नागरिकता प्राप्त गर्ने छन्’ दुई लाइन लेखेर ल्याउनुहोस् संसदबाट हामी तत्काल पारित गर्छौं । धेरै कुरा किन चाहियो ? जे चाहिएको छ त्यो लेखेर ल्याउनुहोस् न ।’

प्रतिक्रिया
सम्बन्धित