२९ आश्विन २०८३, बिहिबार

कामनपालाई नापी विभागको जवाफ: भूमिगत टुकचाको रेखांकन गर्न मिल्दैन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ । काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो ।

२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो । ‘महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाइ चिठी लेखेर आग्रह गरेको थियो’, विभागका सूचना अधिकारी दामोदर ढकालले नागरिकसँग भने, ‘नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं।’

विभागका अनुसार काठमाडौंमा २००० सालमै भूमिको नापजाँच भएको थियो । त्यसपछि २०२१ र २०३२ सालमा जग्गा नापजाँच गरिएको थियो । २००० सालमा काठमाडौंभरि नापजाँच गरी मौजा नक्सा तयार गरिएको थियो । तर त्यसबेला जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्मको जग्गा नारायणहिटी दरबार र राणाकालीन दरबार क्षेत्रमा पर्ने भएकाले त्यहाँ नाप नापजाँच गरिएन । आजको नागरिक दैनिकमा खबर छ ।