३ कार्तिक २०८३, मंगलबार

नेकपा एस त्यागेका चापागाईं भन्छन्– एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि हुन सकेन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ असोज । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए ।

प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’

नेकपा एकीकृत समाजवादीमा बसेर काँग्रेसको कार्यकर्ता बन्नु बाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको काँग्रेसको कार्यकर्ता बन्नु हो, त्यो बाहेक अरू केही हुन सक्दैन, कांग्रेसको कार्यकर्ता बन्नु भन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठाने,’ उनले भने ।

चापागाईंले एमालेबाट विद्रोह गरेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी गठन गरेको भए पनि त्यसले कुनै परिणाम दिन नसकेको भन्दै बरु एमाले नै देशको सच्चा कम्युनिस्ट भएको र यसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए ।

‘मैले करिब एक वर्ष बाटो बिराएकै हुँ, तर विगतलाई बिर्सेर म इमान्दारिपुर्वक फर्किएको छ र बाँकी जीवन एमालेमै रहेर बिताउँछु,’ उनले भने । उनले आफूले योगदान गरेको प्रेस चौतारीसँग केही समय टाढा रहे पनि छोटो समयले फेरि एकैठाउँ फर्काएको पनि बताए । उनले समाजवादीमा लागेका अन्य थुप्रै नेताहरू पुरनो पार्टीमा फर्किने पनि बताए ।