शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बलात्कार मुद्दामा अदालतको हेलचक्र्याईं

दैनिक नेपाल २०७९ असोज ५ गते ७:५९

जनकपुरधाम, ५ असोज । जबरजस्ती करणीका मुद्दाहरूलाई अदालतमै अलमल पारिन थालिएपछि पीडितले न्याय पाउन निकै सकस भएको छ। जबरजस्ती करणीका मुद्दाहरूको सुनवाई फास्ट ट्र्याकबाट टुंगो लगाउने सर्वोच्चकै नजिर तथा कानुनी व्यवस्था भए पनि जिल्ला अदालत धनुषामा यस्ता मुद्दाहरूसमेत विचाराधीन राखिएपछि पीडितको पीडा झनै बढ्दै गएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी नाबालिक दिदीबहिनीलाई बेहोस बनाएर जबरजस्ती करणी गरिएको मुद्दामा फैसला सुनाउन जिल्ला अदालत धनुषालाई साढे तीन वर्षभन्दा बढी समय लाग्यो। सामाजिक दबाब र भयत्रासका कारण जनकपुर छाडेका पीडितको परिवारले मुद्दा लड्न र न्याय पाउनकै लागि लाखौं रुपैयाँ ऋण झिक्नुपर्‍यो।

घटना भएपछि गाउँमा बस्न नसकेर दुवै छोरी र श्रीमतीलाई सँगै लिएर काठमाडौं बस्दै आएका पीडितका बुवाले मजदुरी गरी जेनतेन पैसा कमाएर मुद्दाको तारिख लिन पछिल्लो ३ वर्षदेखि काठमाडौं जनकपुर ओहोरदोहोर गर्नुपर्‍यो।

‘आफ्नो दुईटै छोरीको जीवनै नाश गरेका पीडितलाई सजाय दिलाउन यति धेरै कष्ट र समस्या भएको छ,जसको कुनै वर्णन नै छैन’, पीडितका बुवाले टेलिफोनमा कुरा गर्दै दुःखेसो पोखे, ‘महिना–महिनामा अदालत धाउँदा–धाउँदा कहिलेकाहीँ मुद्दाबाट पछाडि हट्ने सोचसमेत बनाइसकेको थिएँ। आर्थिक अभाव र पारिवारिक समस्याले यति धेरै चुनौती खडा गरेको थियो कि आत्महत्या गर्ने सोचसमेत बनाएँ। तर, म मरे भने मेरी पीडित छोरी र परिवारकै नाश हुने हुनाले यो पाप नगरी न्यायको लागि लडिरहेको छु।’ आजको अन्नपूर्णपोस्टमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित