बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जनताको धरौटी पनि छाड्दैन सरकार

दैनिक नेपाल २०७९ असोज ५ गते ६:५५

काठमाडौं, ५ असोज । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैंले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्।

चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तु/रकम धरौटी हो। यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ। राजस्वबाट चल्नुपर्ने सरकारले ‘टे«जरी डिफिसियट’ को कारण देखाउँदै धरौटीको रकम राजस्व खातामा दाखिला गर्न परिपत्र गरेपछि सर्वोच्च र मातहतका अदालत रकम हाल्न बाध्य बनेका हुन्।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले सरकारवादी मुद्दामा पीडित पक्षबाट धरौटीबापत अर्बौं रुपैयाँ संकलन गर्छन्। विचाराधीन मुद्दामा लामो समय यसरी निस्क्रिय रहेको रकम पछि मुद्दा फैसलाबाट सम्बन्धित पक्षलाई फिर्ता दिनुपर्र्ने भएमा सोही बखत आवश्यक बजेटको प्रबन्धसहित फिर्ता गर्ने गरी सरकारको राजस्व खातामा रकम जम्मा गर्न २०७७ असोज ११ को सचिवस्तरीय निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयन गर्न मातहतका अदालतलाई सर्वोच्चले परिपत्र गर्‍यो। २०७७ कात्तिक ११ मा मुख्य रजिस्ट्रारको निर्णयले आव २०७४/७५ सम्मको धरौटीबापतको ६ करोड ४६ लाख ५६ हजार ६ सय ६७ रुपैयाँ राजस्व खातामा दाखिला गरियो। अदालतमा मुद्दाको चाप बढ्दा धरौटी रकम हरेक वर्ष थपिँदै गएर आकार बढ्दै गएको छ। यो रकम सरकारको राजस्व खातामा अदालतले जम्मा गर्दै गएको छ।

धरौटी रकम नै अर्बौं

सर्वोच्च र मातहतका अदालतले लिने धरौटी नै अर्बौ रुपैयाँको हाराहारीमा छ। धरौटीबापत सर्वोच्चले आव ०७७/०७८ मा नौ करोड ८३ लाख ६४ हजार चार सय ६२ रुपैयाँ प्राप्त गर्‍यो। अदालतले मुद्दा फर्स्यौटमा हार्र्ने पक्षबाट धरौटी जफत गरेको रकम भने स्वाभाविक रूपमा सरकारकै राजस्व खातामा जम्मा गर्नुपर्ने हुन्छ। सर्वोच्चले यस्तो केसमा सोही आवमा २१ लाख ९८ हजार १ सय २४ रुपैयाँ सरकारको राजस्व खातामा जम्मा गरेको छ। उच्च अदालतहरूले उक्त आवमा तीन करोड ६९ लाख ११ हजार ७ सय १० रुपैयाँ सरकारको राजस्व खातामा दाखिला गरेका छन्। सर्वोच्चबाट धरौटीबापत जम्मा भएको रकम ३५ करोड ४ लाख २० हजार ९ सय २२ रुपैयाँ पुगेको छ। देशभरका उच्च अदालतहरूले सोही आवमा ४३ करोड ३० लाख ५२ हजार ५ सय ७५ रुपैयाँ धरौटीबापत रकम संकलन गरेका छन्। सोही आवमा चार करोड ९१ लाख ९३ हजार तीन सय ७१ रुपैयाँ प्रतिवादीलाई फिर्ता गरेको सर्वोच्चको प्रतिवेदनमा जनाइएको छ। जिल्लागत रूपमा पनि अर्बौं रुपैयाँ धरौटीबापत संकलन हुन्छ। जिल्ला अदालतको धरौटी रकमको विवरण भने सर्वोच्चमा छैन। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित