
तनहुँ, ४ असोज । घुम्ती शिविरको दोस्रो दिनसम्म १०५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।
म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ती शिविरबाट दोस्रो दिनसम्म १०५ जना वृद्धवृद्धलाई परिचयपत्र वितरण गरिएको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष वालकृष्ण घिमिरेले वाख्रेमा भएको घुम्ती शिविरमा वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

शिविरमा व्यवसाय दर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, ज्येष्ठ नागरिक कार्ड, उपभोक्ता समितिसँगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजन सम्बन्धी जानकारी, रक्तचापको जाँच, कृषि बीउविजनका वितरण, पशुको गोवर परीक्षण, क्र्यास्टेशन क्षयरोग स्कृनिङ, सुगर परीक्षण, पोषण सेवा, भीआईए स्कृनिङ, परिवार नियोजन सेवा तथा परामर्श र कोभिड–१९ विरुद्धको खोप लगायतको सेवा दिइरहेको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

घरआँगनमा नै आएको ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दा खुशी भएको वाख्रे निवासी मैते कामीले बताए । वृद्धवृद्धा वडा र पालिका सम्म पुग्न कठिन भएको सन्दर्भमा टोलमा आएर परिचय पत्र पाउँदा खुशी लागेको हिरा विकले बताए । टोलमा आएर अत्यावश्यक सेवा दिदाँ जनतालाई राहत मिलेको स्थानिय समाजसेवी पदमबहादुर श्रेष्ठले वताए ।

म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर सेवा घरआँगनमा पुरयाउने उद्देश्यसहित एकीकृत घुम्ती शिविर शुरु गरिएको हो । असोज २ गतेदेखि सञ्चालन हुने घुम्ती शिविर असोज ३१ गतेसम्म चल्ने गाँउपालिकाले जनाएको छ ।
















प्रतिक्रिया