
तनहुँ, ३ असोज । म्याग्दे गाँउपालिकाद्वारा आयोजित घुम्ती शिविरको पहिलो दिनमा ६७३ जना सेवाग्राहीले स्वास्थ्यसेवा लिएका छन् ।
शिविरको पहिलो दिन भएको वडा नं १ को मान्ह्रौबाट सेवा शुरू गरिएको हो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा कृषि सेवा, पशु सेवा, महिला विकासअन्तर्गत ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवाहरू दिइएको थियो ।
स्वास्थ्य सेवातर्फ बहिरङ्ग सेवा जसमा विरामी जाँच तथा औषधि वितरण, प्रयोगशाला सेवा, रगतमा ग्लुकोज परीक्षण, महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण, कोभिड–१९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवा दिइएको थियो ।

पहिलो दिनको शिविरमा वहिरङ्ग सेवाअन्तर्गत १९७ जनाले सेवा लिएका थिए । यसैगरि प्रयोगशालाअन्तर्गत १६० जनाको सुगर परीक्षण गरिएको थियो भने जसमा ९ जनाको पोजेटिभ देखिएको छ । पोजिटिभ देखिएका सेवाग्राहीलाई पुन परीक्षणका लागी दमौली अस्पताल पठाइएको पालिकाका स्वास्थ्य अधिकृत दिनेश पण्डितले जानकारी दिए ।
यसैगरी शिविरमा ७९ जना सेवाग्राहीको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परीक्षण गरिएको थियो जसमा ८ जनाको क्यान्सर शंकास्पद भेटिएको, ८ जनाको आङ खस्ने समस्याको रिङ्ग प्रेसरीबाट उपचार गरिएको र ३ जना महिलाहरूलाई लामो अवधिको परिवार नियोजन साधनको प्रयोग गराइएको छ । जटिल प्रकृतिको रोगको थप उपचारका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको पालिकाले जनाएको छ ।

यसैगरी शिविरमा कोभिड १९ रोग विरुद्धको खोप सेवा पनि दिइएको थियो । ११६ जनाले खोप लिएकामा २७ जनाले प्रथम मात्रा, ९ जनाले दोश्रो मात्रा र ८८ जनाले बुष्टरडोज खोप सेवा लिएका थिए । आयुवर्वेदतर्फ ११६ जना सेवाग्राहीले सेवा लिएका थिए भने क्षयरोग परीक्षण ८ जनाको गरिएको थियो ।
शिविरको पहिलो दिन ६७३ जनाले स्वास्थ्य सेवा लिएको र यो अत्यन्त उत्साहजनक भएको गाँउपालिका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । शिविरले आम जनताको घरदैलोसम्म जाने, जनताको समस्या सुन्ने र समाधानका लागि अग्रसर हुने अवसरका रूपमा लिएको अधिकृत अधिकारीले बताए ।

हिजो असोज २ गतेदेखि शुरू भएकोे घुम्ती शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ । कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र वडाध्यक्ष मणिभद्र वाग्लेको उपस्थिति थियो ।















प्रतिक्रिया