
म्याग्दे (तनहुँ), २ असोज । तीर्थेखोला हात्तीखोर खानेपानी आयोजना उद्घाटन गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष कृष्णराज खनालको अध्यक्षतामा भएको एक विशेष कार्यक्रमकाबीच गण्डकी प्रदेशका निवर्तमान सांसद आशा कोइरालाले खानेपानी आयोजना उद्घाटन गरेकी हुन् ।
ठूलोचौर टोलमा रहेको ४२ घरधूरीका ३५० जना व्यक्तिहरूले खानेपानीको प्रत्यक्ष लाभ लिएको संस्थाका सचिव विकासराज खनालले जानकारी दिएको छ ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्ष मणिभद्र वाग्ले, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपानेलगायतको उपस्थिति थियो ।
गाउँपालिकाको १० लाख २५ हजार रुपैयाँ र गण्डकी प्रदेशको ८ लाख रुपैयाँमा निर्माण भएको खानेपानी टंकीको निर्माणपश्चात् उपभोक्ताले खानेपानीको सुविधा पाएको पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खानेपानी जस्तो विषय सरकारको न्यूनतम कार्यक्रम भएको हुदाँ गाँउपालिकाले जनताको सेवा र सुविधाका लागि हरदम सहयोग गर्न तैयार रहेको बताए । तमाम जनताका आवश्कता क्रमशः पूरा हुने र यसका लागि उपभोक्ता समिति नै चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन् ।
गाँउपालिका अन्तर्गत उत्तरपट्टी रहेको मोटरमार्ग विस्तारका लागि आफूले पहल गरेको तर स्थानीय बासिन्दा अग्रसर नहुँदा रकम फ्रिज भएको समेत उनले सो अवसरमा जानकारी दिएका छन् ।
यसैगरी प्रमुख अतिथि आशा कोईरालाले जनताको समस्यामा आफू सधैं लागिपरेको बताइन् । जनताप्रति उत्तरदायी रहनु आफ्नो कर्तव्य भएको र कर्तव्य वहन गरेको उनको भनाइ छ ।
जनताको आशा र विश्वासले जनप्रतिनिधि भएको र भोलिको दिनमा पनि जनताको काममा लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् । ‘जनताको जुन विश्वास र भरोशा रहयो, भोलिका दिनमा पनि रहनेछ भन्ने विश्वास लिएको छु,’ सासंद कोईरालाले भनिन् ।















प्रतिक्रिया