२९ आश्विन २०८३, बिहिबार

कर्णाली कहरः भगवान् भरोसामा राजमार्ग यात्रा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपालगन्जबाट जुम्ला जाँदै गरेका चालक हरिबहादुर कार्की राजमार्गमा ‘कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु’ दिनहुँ देखिरहेका हुन्छन् । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ,’ उनी भन्छन्, ‘भगवान्को नाम जपेर यात्रा गर्नुपर्ने डर लाग्दो अवस्था छ ।’

सामान्यत एक दिनको यो बाटो पार गर्न वर्षात्का बेला कालिकोटबाट नेपालगन्ज पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्छ,’ कार्की भन्छन्, ‘वर्षामा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्छ ।’ कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ ।

‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्सीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन्,’ कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? केही थाहा छैन ।’

त्यसो त, सवारीचालक कार्की मात्र होइन, राजमार्गमा यात्र गर्ने यात्रु सुनिनसक्नुसम्मका पीडा सनाउँछन् । ‘ट्र्याक’ खुलेको भएको डेढ दशक पुग्दासमेत सडकको अवस्था सुधार हुन नसकेको तिलागुफा नगरपालिका–६ जुविधाकी उर्मिला शाही बताउँछिन् । ‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले असाध्यै दुःख पाएका छन्,’ घरैछेउको राजमार्ग दिनहुँ नियाल्दै आएकी उर्मिला भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति भए कर्णालीका जनताले सुख पाउँथे कि ?’

आँखाअगाडि सडकछेउमा गाडी झुन्डिएका सबैले देखेका छन् तर आफूहरूले ‘भोट दिएर माथि पुगेका मन्त्रीले अझै नदेखेको’ उर्मिलाको भनाइ छ । उनी भन्छिन्, ‘भगवान् भरोसामै यात्रा गर्न बाध्य छौं ।’ आजको राजधानी दैनिकमा खबर छ ।