
काठमाडौं, ३० भदौ । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा पनि फोरजी सेवा शुरू गरेको छ ।
टेलिकमले हिजो बुधबारदेखि सो स्थानमा फोरजी सेवा शुरू गरेको जनाएको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकोप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
सेवा शुरू भएसँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । उनका अनुसार टेलिकमले फोरजी सेवाका लागि दार्चुलाको महाकाली नगरपालिकास्थित न्यूबाला शिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो ।
ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकोप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । अब छाङरुमा रहेका करिब १२० घरधूरी र ७०० जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिब ४ हजार जनसंख्या यो सेवाबाट प्रत्यक्ष लाभान्वित हुने कम्पनीको विश्वास छ ।
अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुञ्जी, नाभी र कुटी तथा टिंकर लगायत क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको छ ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात् ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालयहरू समेत रहेका छन् ।
विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रूपमा छाङरुमा समेत सेवा उपलब्ध गराएको कम्पनीको भनाइ छ ।















प्रतिक्रिया