
काठमाडौं, भदौ २९ । महाभियोग सिफारिस समितिमा बयानका लागि मंगलबार उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समिति प्रधानन्यायाधीशको पनि न्यायाधीश भएकाले आफूलाई न्याय दिन आग्रह गरेका छन्।
आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गर्दै उनले न्यायका लागि आग्रह गरे, ‘प्रधानन्यायाधीशको पनि न्यायाधीश हुने सौभाग्य यहाँ (समितिका सदस्य) हरूलाई छ, संवैधानिक दायित्व, न्यायको दायित्व, अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई गम्भीर रूपमा महसुस गरेर निर्णय लिनु हुनेछ भन्ने पूर्ण विश्वास छ। भोलि इतिहासमा प्रधानन्यायाधीशलाई अन्याय पर्यो भन्ने नदेखियोस्, प्रधानन्यायाधीशले गल्ती गरेको देखिन्छ भने त्यही किसिमको होस्।’
जबराले आफूविरुद्धको महाभियोग राजनीतिक मुद्दाको परिणाम र फैसलाको पूर्वअनुमानमा आधारित भएको बताए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको मुद्दा, नेकपा एकीकृत समाजवादीका १४ सदस्यको सांसद पद खारेजीको मुद्दा तथा दुईपटक प्रतिनिधिसभा विघटन र त्यसमा पनि २०७८ असार २८ को फैसलाको परिणाम नै महाभियोगको कारण भएको उनको दाबी थियो। समितिमा जबराले अन्तिम प्रश्नको जवाफ दिँदै भने, ‘केही राजनीतिक मुद्दाको परिणाम र फैसलामा पूर्वअनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशका बीचमा विभेद उत्पन्न गराइयो। केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो। र, प्रधानन्यायाधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहुन्न भन्ने वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो।’ आजको नागरिक दैनिकमा खबर छ ।















प्रतिक्रिया