२८ आश्विन २०८३, बुधबार

देउवाले प्रचण्ड बोकेपछि कांग्रेसभित्र विद्रोह, छुट्टै उम्मेदवारी दिने उद्घोष

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । आसन्न चुनावमा तालमेल गर्ने भन्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोकेपछि कांग्रेसभित्र विद्रोह मच्चिएको छ ।

नेपाली कांग्रेस चितवनको विद्रोही समूहले प्रचण्डविरुद्ध छुट्टै उम्मेदवारी दिने भएको छ । आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर चितवन कांग्रेसका नेताहरूले गठबन्धनको नाममा कांग्रेसले उम्मेदवारी नदिएका ठाउँमा विद्रोही समूहले उम्मेदवारी दिने उद्घोष गरेका छन् ।

चितवनको ३ नम्बर क्षेत्र सहितका चितवनका ३ संघीय क्षेत्र र ६ वटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिने तयारी विद्रोही समूहले गरेको छ । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार तथा पूर्व सांसद जगन्नाथ पौडेलले स्थानीय चुनावभन्दा जनमत बढेकाले गठबन्धनविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले भने, ‘चितवनको ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बन्नेछ, केही रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्नेछौं । गठबन्धनले आघात पुर्‍याएको छ, हामी रेस्क्यू गर्नेछौं ।’ स्थानीय चुनावमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गर्दै उम्मेदवार बनेका पौडेलले भरतपुर महानगरको मेयर पदमा १४ हजार ७२८ मत पाएका थिए ।

उनले भने, ‘त्यो बेला १० दिन मात्रैको प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भएको थियो । त्यो बेला भूइँकटहरमा भोट नहालेका मतदाता सहितका धेरै कांग्रेसी यसपालि हाम्रो पक्षमा छन् ।’ गठबन्धनको बहानामा पटक–पटक चितवन कांग्रेसमाथि दमन भएको उनले गुनासो गरे ।

कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहका स्वरहरू आउन थालेका छन् । उनले भने, ‘चितवनले विद्रोहको नेतृत्व गर्नुपर्नेछ, चितवन सबैभन्दा बढी दमनमा परेको छ, अन्य जिल्लामा समेत विद्रोह भएका छन्, यहाँ जिल्ला नेतृत्व मौन बस्नु लज्जास्पद रहेको छ ।’

चितवनसँगै डडेल्धुरा, डोटी, कञ्चनपुर, सिन्धुपाल्चोक जिल्लामा कांग्रेसले गठबन्धन नमान्ने निर्णय गरिसकेको उनले बताए । गठबन्धन नगरी सरकार गठन गर्नैै सकिन्न भनेर जनतामा भ्रम छर्न खोजिएको समेत उनले बताए ।

चितवन कांग्रेसका नेताहरू पूर्व सांसद जगन्नाथ पौडेल, पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिना खरेल, पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, सूर्य बस्नेत, पूर्व जिल्ला सचिव आनन्दराज राउत र डा. केशव पौडेल लगायतका नेताहरू विद्रोहमा उत्रिएका छन् ।