
काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसभित्र महामन्त्री गगनकुमार थापाको आसन्न चुनावका लागि विभिन्न क्षेत्रबाट नाम सिफारिस भइरहेको छ ।
सर्लाहीको ४ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडाउन गगन थापाको नाम सिफारिस भएको थियो ।
निर्वाचन क्षेत्रीय कार्यसमितिले थापाको एकल नाम सिफारिस गरेको थियो ।
क्षेत्रीय कार्यसमितिको सिफारिसलाई जिल्ला कार्यसमितिले जस्ताको त्यस्तै अनुमोदन गरेर प्रदेश कार्यसमितिमा पठाएको थियो ।
तर प्रदेश कार्यसमितिमा आएर गगन थापालाई ‘काउन्टर’ दिन कांग्रेस नेता अमरेशकुमार सिंहको नाम थपिएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका प्रवक्ता नितिशकुमार गुप्ताले प्रदेश कार्यसमितिले सिंहले नाम थपेर केन्द्रीय कार्यसमितिमा पठाएको जानकारी दिए ।
क्षेत्रीय र जिल्ला कार्यसमितिले आफ्नो नाम सिफारिस नगरेपछि नेता सिंहले प्रदेश कार्यसमितिमा निवेदन दिएका थिए ।
निवेदनको सुनुवाइ गर्दै प्रदेश कार्यसमितिले सिंहको नाम थपेको हो ।
महामन्त्री थापाको एकल नाम सिफारिस भएको र थापाले काठमाडौंबाटै चुनाव लड्ने तयारी गरिरहेकाले सो क्षेत्रबाट सिंह नै उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।
तर सिंहलाई स्थानीय समितिले सिफारिस गरेका थिएनन् । स्थानीय समितिले सिफारिस नगरेका उम्मेदवारलाई पार्टीले उम्मेदवार बनाएर पठाएमा अन्तर्द्वन्द्व हुने सम्भावना समेत रहेको कांग्रेस नेताहरू बताउँछन् ।
स्मरणरहोस्, नेता सिंह २०७० र २०७४ सालमा लगातार २ पटक सर्लाहीको ४ नम्बर क्षेत्रबाट निर्वाचन भएका थिए ।













प्रतिक्रिया