सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

लुट्न सके लुट…!

गणेश पाण्डे २०७९ भदौ २३ गते ११:२८

– गणेश पाण्डे

मुलुक यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ । झण्डै श्रीलंकाको हाराहारीमा अर्थतन्त्र रहेको भनी अर्थविद्हरुले चेतावनी दिइरहेका छन् । तर, शेरबहादुर देउवा नेतृत्वको सरकार यति मस्त छ कि अर्थतन्त्रलाई माथि उठाउन पहलकदमी लिँदै त्यही अनुरुपको आचरण अपनाउनु त कहाँ हो कहाँ ! जसरी पनि राज्यको ढुकुटी रित्याउन यो सरकार लागिपरेको छ ।

अप्राकृतिक रुपमा गठन भएको देउवा सरकार राज्यको ढुकुटी दोहनमा कसरी लागेको छ भन्ने उदाहरण सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णय हेरे पुग्छ । सञ्चारमन्त्री कार्कीले सार्वजनिक गरे अनुसार मन्त्रिपरिषदको भदौ २१ गते बसेको बैठकले २६ वटा निर्णय गरेको छ । त्यसमध्ये १३ वटा निर्णय त विदेश भ्रमण सदरका छन् । अझ रोचक के छ भने सिंहदरबारमा सञ्चारमन्त्रीले सरकारी उच्च ओहादाका लागि लावालस्करसहित विदेश भ्रमणका लागि अनुमति दिएको निर्णय सुनाइरहँदा प्रधानमन्त्री देउवा भने निजामति कर्मचारीहरुको कार्यक्रममा निजामति कर्मचारीहरुलाई विदेशबाट पैसा मागरेर तलब दिनुपर्ने अबस्था आएको भन्दै निरीहता पोखिरहेका थिए । प्रधामन्त्री देउवा सार्वजनिक कार्यक्रममै तलब खुवाउन ऋण खोज्नुपर्ने स्थिति आएको भन्ने, तर उनी आफ्नै नेतृत्वको मन्त्रिपिरषदको बैठकबाट धमाधम विदेश शयरका लागि सदर गर्ने ! त्यसो भए विदेशबाट ऋण खोजेको पैसाबाट मन्त्री र उच्च सरकारी अधिकारीहरुलाई जन्ती गए जसरी विदेश भ्रमणको अनुमति उनले किन दिइरहेका छन् ?

विदेश भ्रमणको सूची लामो छ । मन्त्रिपरिषद्बाट भदौ लागेयता १६ वटा भ्रमण दलले स्वीकृत पाइसकेका छन् । मन्त्रिपरिषद्को भदौ २१ गतेको निर्णय अनुसार असोज १० देखि १४ गतेसम्म अर्थमन्त्री जनार्दन शर्मा लावालस्करसहित फिलिपिन्सको मनिलामा जाँदैछन् । शिक्षा मन्त्री देवेन्द्र पौडेल असोज ७ देखि ११ गतेसम्म अष्ट्रियाको भियनामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । उनलाई दुई हप्ता अघिको बैठकले आइभरीकोष्टको पनि अनुमति दिएको थियो । शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव उज्वेकिस्तान जाँदैछिन् ।

वन तथा वातावरण मन्त्री प्रदीप यादव भदौ २७ गतेदेखि ३१सम्म बेल्जियममा हुने कार्यक्रममा उड्दैछन् । बनमन्त्री यादवले यसै महिना रसिया भ्रमणको पनि स्वीकृति लिएका थिए । वन मन्त्री यादव नेपालसँग धेरै साइनो नभएको देश सेनेगलमा पनि जाँदैछन् ।

सरकारी रकममा विदेश शयर गर्न अनुमति पाएकामा मन्त्री मात्र होइनन्, सरकारका सचिवदेखि महानगरपालिकाका मेयरसम्म छन् । प्रधानमन्त्री कार्यालयका सचिव भदौ २७ गते सिंगापुरमा हुने कार्यक्रममा जाँदैछन् । उद्योग वाणिज्य मन्त्रालयका सचिव डा. तोयानाथ ज्ञवाली कात्तिक १४ देखि १८ गतेसम्म क्यानडामा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल भदौ २८ र २९ गते नेपाली टोली लिएर भारत भ्रमणमा जाँदैछन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी भदौ २७ गतेदेखि ३१ गतेसम्म बेल्जियम जाँदैछन् । शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी असोज २४ गते नेदरल्याण्ड्स र बेल्जियम जाँदैछन् । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पुजा सिंह र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण पौडेल असोज २७ देखि अमेरिका जाँदैछन् ।

देउवा सरकारका मन्त्रीहरु अन्तिमभोज सरह विदेश भ्रमणमा जान हानथापमा छन् । मन्त्री नै विदेश जान हानाथाप गर्ने भएपछि कर्मचारीलाई लगाम लगाउने कुरै भएन !

विदेश उड्न स्वीकृति पाउनेमा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि छन् । सिंह भुटान र अधिकारी जोर्डन जाँदैछन् । यसैगरी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन असोज ४ गते मलेसिया जाँदैछन् ।

राज्यको आवश्यकता अनुसार मन्त्री र सरकारी अधिकारीहरु विदेश भ्रमणमा जाँदा धेरै चर्चा गरिरहनु जरुरी छैन् । तर, अहिले परिस्थिति फरक छ । केपी ओली नेतृत्वको सरकार रहँदा २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रहेको विदेशी विनिमय सञ्चिती परमादेशबाट बनेको गठबन्धन सरकारको करिब एक बर्षे कार्यकालमै १३ दशमलव १ प्रतिशतले घटेर २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडमा झरेको छ । विदेशी विनिमयको सञ्चिती पनि निरन्तर घटिरहेको छ । करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा रहेको राष्ट्र बैंकले बताइरहेको छ ।

अब प्रश्न उठ्छ– देशको आर्थिक अवस्था यति जर्जर भएको बेला यसरी जन्ती जसरी विदेश जाँदा देशलाई फाइदा चाँहि के हुन्छ ? अर्कोतर्फ, देशमा निर्वाचन नजिकिँदै छ । देउवा सरकार कामचलाउमा परिणत भइसकेको छ । तर, देउवा सरकारका मन्त्रीहरु अन्तिमभोज सरह विदेश भ्रमण जान हानथापमा छन् । मन्त्री नै विदेश जान हानाथाप गर्ने भएपछि कर्मचारीलाई लगाम लगाउने कुरै भएन ! सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने मन्त्री तथा कर्मचारीले दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च टोली नेता भत्ता तथा भैपरी आउने खर्च लगायतको सुविधा पाउने व्यवस्था छ । त्यसको अवला बिजनेश क्लासको हवाइ टिकटको खर्च र दैनिक दुई सय अमेरिकी डलर भ्रमण भत्ता पनि पाउँछन् । अनेक अन्तर्राष्ट्रिय सम्मेलन, निमन्त्रणा र सेमिनारको नाममा देउवा सरकारले करोडौं रकम स्वाहा गरिसकेको छ ।

एकातिर, विदेशी मुद्रा सञ्चिती भनेर जनतालाई गाडी, मोबाइल तथा मोटरसाइकल आयातमा प्रतिबन्ध लगाउने अर्कोतरि उच्च ओहादामा बसेकालाई देशको ढुकुटीबाट विदेश शयर गर्न बेपर्वाह अनुमति दिने ! पशुपति शर्माको गीत ‘लुट्न सके लुट्…’ ले देउवा सरकारलाई गिज्जाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित