शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सिचुआन भूकम्प : ७४ को मृत्यु, २६ बेपत्ता

दैनिक नेपाल २०७९ भदौ २२ गते १६:०२


काठमाडौं, २२ भाद्र । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

मंगलबार राति ९ बजेसम्मका समाचारअनुसार सो भूकम्पमा अझै २६ जना बेपत्ता छन्। मंगलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताइएको छ।

यान शहरमा मंगलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।

सिचुआन प्रान्तको राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ। त्यसको नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन्।

भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ। भूकम्पले भत्काएकाले यहाँबाट अर्को शहरमा जाने बाटो पनि अवरुद्ध भएको छ।

त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ। यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार गएको भूकम्पका पीडित र प्रभावितको उद्धार चुस्त रुपमा गर्न निर्देशन दिएका छन्।

उनले यस कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्प प्रभावितहरूको उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन्। -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित