
बागलुङ, २० भदौ । प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम बागलुङ क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए ।
दुई दिनअगाडि मात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवापत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।
यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डको नाम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट पनि सिफारिस गरिएको छ । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा मोआवादीको १ नं. क्षेत्रीय कमिटीले अध्यक्ष दाहालसहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरेको हो ।















प्रतिक्रिया