
काठमाडौं, २० भदौ । सुरक्षा व्यवसायी सङ्गठन नेपालले ठमेलस्थित भीएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि सत्ता र शक्तिको दुरुपयोग गरी हिरासतमा पुर्याएको बताएको छ ।
आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनले गुरुङलाई पक्राउ गरिएकोप्रति घोर निन्दा र खेद प्रकट गरेको छ ।
‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठज्यूले काठमाडौंको ठमेलमा रहेको क्यानेडियन भिसा सेन्टरको सुरक्षा कार्यमा खटिएका श्रमजीवि सुरक्षाकर्मी शेरजंग गुरुङमाथि सत्ता र शक्तिको आडमा अभद्र व्यवहार कसुरमा पक्राउ गर्न लगाई थुनामा राखिएकोमा यस सुरक्षा व्यवसायी सङ्गठन नेपाल घोर निन्दा र खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लगाएर प्रहरी हिरासतमा पुर्याइएको थियो । गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको भए पनि सोमबार साँझ गृहमन्त्री बालकृष्ण खाणको ठाडो निर्देशनमा उनी रिहा भइसकेका छन् ।
आफ्नो क्याबिनेटको मन्त्रीले गरेको गल्तीका कारण सिङ्गो सरकार र सम्बन्धित राजनीतिक दलकै चर्को आलोचना हुन थालेपछि मन्त्रीको बचाउका निम्ति खाणले यस्तो निर्देशन दिएको भन्दै पुनः खाणको आलोचना शुरू भएको छ ।
मन्त्री वा सेक्युरेटी गार्डमध्ये एकजनाले कुनै न कुनै गल्ती गरेको घटनाक्रमलले देखाइरहेको अवस्थामा गुरुङलाई रिहा गरेर घटना ढाकछोप गर्न खोजिएको आरोप गृहमन्त्री खाणमाथि लागेको छ ।
















प्रतिक्रिया