
काठमाडौं, २० भदौ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासत लगिएका सेक्युरेटी गार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लगाएर पक्राउ गरी हिरासत लगिएको थियो ।
आफ्नो कर्तव्य पालना गर्ने क्रममा मन्त्रीलाई पालोमा बस्नुस् भन्ने सुरक्षागार्डलाई तत्काल पक्राउन गर्न लगाएका मन्त्री श्रेष्ठको हिजैदेखि चौतर्फी आलोचना भइरहेको छ । उनको साथमा सरकारको समेत बदनाम हुन थालेपछि गृहमन्त्रीले थुनामुक्त गर्न निर्देशन दिएका हुन् ।

गुरूङ थुनामुक्त भएसँगै मन्त्री समेत चोखिने भएकाले यस्तो निर्देशन दिइएको हो । गुरुङले गल्ती गरेको भए उनलाई र मन्त्रीले गल्ती गरेको भए मन्त्रीलाई समेत कारबाही गर्ने प्रतिबद्धताबाट पन्छिए र गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।
गुरुङलाई छुटाउन उनकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनएकी छिन् । तर, सर्वोच्चले यो समाचार तयार पार्दासम्म कुनै सुनुवाइ गरेको छैन ।
बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि अदालतले तत्काल सुनुवाइ गरी न्याय निरुपण गरिने गरिन्छ । सोही अनुसार उक्त निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।















प्रतिक्रिया