
काठमाडौं, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् ।
शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।

विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गरेका थिए ।
अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन् ।
















प्रतिक्रिया