
काठमाडौं, २० भदौ । पुनर्जागरण पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको आलोचना गर्दै छायाँ सेन्टरका सेक्युरेटी गार्ड शेरजंग गुरुङको तत्काल रिहाइको माग गरेको छ ।
शेरजंग गुरुङको चाँडो रिहाइका लागि पार्टीका महामन्त्री रवि किरण हमालले गृहमन्त्री बालकृष्ण खाणसँग आग्रह गरेका छन् ।
क्यानडाको भिसा प्रोसेसका लागि हिजो आइतबार छायाँ सेन्टर पुगेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न अनुरोध गरेका गुरुङलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

‘शेरजंग गुरुङले आफ्नो कर्तव्य निभाउने क्रममा मन्त्रीज्यूलाई पनि नियम पालना गराउन लिएको कदम तपाईंको नेतृत्वमा रहेको गृह प्रशासनका लागी सुखद हुनुपर्ने हो,’ पुनर्जागर पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि यसरी उनलाई हिरासतमा राखेर राम्रो सन्देश गएन । उनलाई रिहाई गरेर जिम्मेवारीमा फर्काउन माग गर्दछौँ ।’
पक्राउ परेका गुरुङले आफ्नो कर्तव्य पालना गरेको बताएका छन् । गुरुङले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।
तर, मन्त्री श्रेष्ठले भने आफूलाई सर्वसाधारणको लाइन राख्न खोजेर अपमान तथा दुर्व्यवहार गरेको बताएका छन् ।
मन्त्रीलाई लाइनबाट जानुहोस् भन्नु एउटा सेक्युरेटी गार्डको कर्तव्य भएको र उक्त कर्तव्य पालना गर्दा गुरुङले पक्राउ खानु परेका घटनाको अहिले चौतर्फी आलोचना भइरहेको छ ।















प्रतिक्रिया