३ कार्तिक २०८३, मंगलबार

एमालेका केन्द्रीय पदाधिकारीहरू कहाँ–कहाँबाट चुनाव लड्दैछन् ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय सत्ता गठबन्धनसँग नेकपा एमाले एक्लै निर्वाचनको मैदानमा उत्रिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले छिमेकी मुलुक भारतले मिचेको नेपालली भूमी फिर्ता ल्याउने पहलकदमी लिएसँगै चौतर्फी घेराबन्दीमा परेको एमाले अन्ततः महागठबन्धनविरुद्ध एक्लै निर्वाचन प्रतिस्पर्धा गर्ने ठाउँमा आइपुगेको छ ।

यद्यपि, सत्ता गठबन्धनसँगको प्रतिस्पर्धाबाट पनि आगामी निर्वाचनबाट बहुमत ल्याएर पुनः सरकार गठन गर्ने एमालेले बताउँदै आएको छ । त्यसका लागि अहिले उम्मेदवार सिफारिसको काम धमाधम भइरहेको छ ।

देशको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको एमालेका १९ जना पदाधिकारीहरू सम्भवतः आगामी निर्वाचनमा सबै उम्मेदवार बन्ने तरखरमा छन् ।

यसैबीच पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली यो पटक पनि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन् । उम्मेदवार सिफारिसमा उनीसँग कसैको प्रतिस्पर्धा नभएका कारण ओली नै उक्त क्षेत्रको उम्मेदवार बन्ने निश्चित भइसकेको छ ।

ओलीले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट ५७ हजार १३९ मत प्राप्त गरी नेपाली काङ्ग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई फराकलिो मतान्तरले पराजित गरेका थिए ।

त्यसैगरी पार्टी वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट एकल सिफारिसमा परेका छन् । उनको पनि उम्मेदवारी काठमाडौं–५ बाटै निश्चित भइसकेको छ । पोखरेल यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले काङ्ग्रेसका प्रकासशरण महतलाई पराजित गरेका थिए ।

यसैगरी पार्टीको अर्का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । उनी पनि अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

त्यस्तै अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् । पाण्डेसहित केन्द्रीय सदस्य जगन्नाथ थपलियाको पनि नाम सिफारिस भएको छ । पाण्डे अघिल्लो निर्वाचनमा यहि क्षेत्रबाट ५१ हजार ८० मतसहित विजयी भएका सांसद हुन् ।

पार्टीकी अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने यो समाचार तयार पार्दासम्म कतैबाट सिफारिसमा परेकी छैनन् । यद्यपि उनलाई पार्टीले समानुपातिबाट सांसद बनाउने अनुमान गर्न सकिन्छ ।

त्यस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि यो पटक प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन् । उनीसहित उक्त क्षेत्रबाट केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम पनि सिफारिस भएको छ । ज्ञवाली अघिल्लो पटक राष्ट्रियसभा सदस्य बनेका थिए ।

त्यस्तै उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादल यो पटक चिवतनबाट उम्मेदवार बन्ने बताइएको छ । त्यसैगरी अर्का उपाध्यक्ष पूर्व सभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङ इलामा क्षेत्र नम्बर–२ बाट सर्वसम्मत सिफारिस भएका छन् । यसबाट उनी पनि उक्त क्षेत्रका उम्मेदवार निश्चित भएका छन् ।

यस्तै अघिल्लोपटक दाङ–२ (क) बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनिसकेका पार्टीका महासचिव शंकर पोखरेल यो पटक दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि एकल उमेद्वार सिफारिस भएका छन् । सो क्षेत्रको उम्मेदवार उनी नै निश्चित भएका छन् ।

त्यस्तै उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नम्बर–१ बाट एकल सिफारिसमा परेका छन् । अर्का उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशसभा सदस्यमै उम्मेदवार बन्ने करिब पक्का भएको छ । उनलाई पार्टीले प्रदेशसभातर्फ लमजुङको निर्वाचन क्षेत्र नं. (ख) बाट उम्मेदवारमा सिफारिस गरेको छ ।

अघिल्लो पटक पनि माननीय नरहेको उपमहासचिव विष्णु रिमाल भने अहिलेसम्म कुनै पनि क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छैनन् ।

पार्टीका सात जना सचिव मध्ये छविलाल विश्वकर्मा यो पटक पनि रुपन्देहीबाटै चिर्वाचन लड्ने भएका छन् । अघिल्लो पटक उनी रुपन्देही क्षेत्र नम्बर–१ बाट ३४ हजार ७५२ मतसहित विजयी भएका थिए ।

त्यस्तै योगेश भट्टराई अघिल्लो निर्वाचनमा एक क्षेत्र मात्रै रहेको ताप्लेजुङबाट निर्वाचित भएका थिए । उनले अघिल्लो निर्वाचनमा २९ हजार ४७९ मत ल्याउँदा काँग्रेसका केशव प्रसाद दाहालले १६ हजार ८ सय ८८ मत ल्याउनु भएको थियो । ताप्लेजुङमा उम्मेदवार सिफारिसका लागि भोलि बैठक बस्दैछ । उहाँको सो क्षेत्रबाट नाम सिफारिस हुने निश्चित छ ।

अर्का सचिव रघुवीर महासेठ धनुषाबाट सिफारिस भएका छन् भने सचिव गोकर्ण विष्टसहित तीन जनाको नाम गुल्मी क्षेत्र नम्बर–२ बाट सिफारिस भएको छ ।

अर्का सचिव लेखराज भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत एकल सिफारिस भएका छन् । प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट यो पटक एमालेबाट सचिव टोपबहादुर रायमाझी सिफारिस हुने बताइएको छ ।

त्यस्तै सचिव स्याङ्जा क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्ने भएकी छिन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी सांसद हुन् । उनी मन्त्री समेत भइसकेकी छिन् ।

त्यस्तै एमालेले रुपन्देही क्षेत्र नम्बर–३ बाट स्थायी कमिटी सदस्य घनश्याम भुसालसहित ४ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । यो क्षेत्रबाट अघिल्लो पटक भुसाल नै विजयी भएका थिए ।